images
images
  • फेरि चर्चामा रास्वपा सांसद खगेन्द्र सुनार, महिलालाई यातना दिएका तस्बिरहरू सार्वजनिक

    काठमाडौं– महिलामाथि कुटपिटको आरोप, घाइते अवस्थाका तस्बिर र त्यसपछि प्रहरी हिरासतबाट मिलापत्रमार्फत रिहाइ ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको चार वर्ष पुरानो घटना फेरि चर्चामा आएको छ ।

    तत्कालीन बागमती प्रदेश सरकारकी राज्यमन्त्रीसमेत रहेकी एक महिलामाथि कुटपिट गरेको आरोपमा सुनार प्रहरी वृत्त स्वयम्भूको हिरासतमा पुगेको र भोलिपल्टै मिलापत्रपछि छुटेको विवरण सार्वजनिक भएको हो ।

    घटनासँग सम्बन्धित भन्दै प्राप्त तस्बिरमा महिलाको टाउकोमा पट्टी बाँधिएको देखिन्छ । अर्को तस्बिरमा उनको आँखामुनि र गालाको भागमा नीलडाम तथा ओठमा चोट जस्तो देखिन्छ । यी तस्बिरले घटनाको गम्भीरताबारे प्रश्न उठाएका छन् ।

    लेनदेनको विवाद, कुटपिटको आरोप

    khagendra sunar women11

    विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार घटना २०७८ सालतिर काठमाडौंको सीतापाइला क्षेत्रमा भएको थियो । त्यतिबेला सुनार र ती महिलाबीच लेनदेनसम्बन्धी विवाद भएको बताइएको छ । सोही विवादका क्रममा महिलामाथि कुटपिट भएको आरोप लागेको थियो ।

    घटनापछि महिलाको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट प्रहरी प्रधान कार्यालयको सम्बन्धित निकायमा जानकारी पुगेको र त्यसपछि काठमाडौं प्रहरी परिसरमार्फत प्रहरी वृत्त स्वयम्भूलाई घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइएको समाचारमा उल्लेख छ ।

    त्यसपछि प्रहरीले सुनारलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त स्वयम्भूमा राखेको थियो । घटनाबारे सार्वजनिक विवरणअनुसार प्रहरी हिरासतमा रहेका सुनारलाई भेट्न घाइते महिला पनि प्रहरी कार्यालय पुगेकी थिइन् ।

    हिरासतमा राखिएका सुनार भोलिपल्टै छुटे

    khagendra sunar women2

    प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार ती महिलाले सुनारलाई आफ्नो जिम्मामा छाडिदिन प्रहरीसँग आग्रह गरेकी थिइन् । त्यसपछि दुवै पक्षबीच मिलापत्रको कागज तयार पारिएको र सुनार हिरासतमा परेको भोलिपल्ट रिहा भएका हुन् ।

    प्राप्त प्रहरी अभिलेखमा पनि २०७८ फागुन १५ गते राति करिब ११ः५५ बजे काठमाडौंको नागार्जुन नगरपालिका– ८, कारखाना चोक नजिक सुनार र तत्कालीन प्रदेशसभा सदस्यबीच विवाद भएको तथा पछि दुवै पक्षबीच मिलापत्र भएको उल्लेख छ ।

    त्यस्तै जतिबेला बा २ झ ४२५७ नम्बरको गाडीसमेत सम्बन्धित व्यक्तिलाई बुझाइएको विवरण छ ।

    तर मिलापत्र कुन परिस्थितिमा भएको थियो, त्यसअघि महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो कि थिएन र कुटपिटको आरोपमा थप अनुसन्धान अघि बढाइएको थियो कि थिएन भन्ने विषय उपलब्ध कागजातबाट स्पष्ट हुँदैन ।

    घाइते अवस्थाका तस्बिरले उठाएका प्रश्न

    घटनापछि खिचिएको भनिएका तस्बिरमा महिलाको अनुहारमा चोट देखिन्छ । तस्बिर र प्रहरी अभिलेखमा उल्लेख भएको विवाद तथा मिलापत्रको विवरणलाई सँगै राख्दा घटनाको वास्तविकता र त्यसबेलाको प्रहरी कारबाहीबारे थप स्पष्टता आवश्यक देखिन्छ ।

    महिलामाथि कुटपिट भएको आरोपमा प्रहरी हिरासतसम्म पुगेको भनिएका व्यक्तिलाई मिलापत्रपछि रिहा गरिएको घटनामा त्यसबेला अपनाइएको कानुनी प्रक्रिया के थियो भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ ।

    पुरानो घटनासँगै अहिलेको विवाद पनि चर्चामा

    सुनारसँग जोडिएको पुरानो घटनाको विवरण अहिले उनीसँग सम्बन्धित भनिएको विवादित अडियो सार्वजनिक भएपछि पुनः चर्चामा आएको हो । उक्त अडियोमा सुनिएको आवाज आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर आफूलाई फसाउन खोजिएको सुनारले दाबी गर्दै आएका छन् ।

    यता रास्वपाले पनि उक्त अडियो र त्यससँग सम्बन्धित आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ । तर सुनारले पार्टीको छानबिन समितिसमक्ष अडियोमा सुनिएको आवाज आफ्नो नभएको भन्दै आरोप अस्वीकार गरेका छन् ।

    समितिले थप प्रमाण जुटाउने र आवश्यक परे अडियोको प्राविधिक परीक्षण गर्ने विषयमा विचार गरिरहेको जनाएको छ ।

    त्यस्तै पछिल्लो विवादमा पीडित भनिएकी महिलाको सार्वजनिक अन्तर्वार्तामा हिंसा भएको विषयमा फरक भनाइ आएको विवरणसमेत प्रकाशित भएको छ ।

    चार वर्षअघिको भनिएको घटना, घाइते अवस्थाका तस्बिर र प्रहरी वृत्तमा भएको मिलापत्रको विवरणले पुरानो प्रकरणलाई फेरि सार्वजनिक चासोमा ल्याएको हो ।

    यी पनि पढ्नुस्–

    उम्लदा उम्लदै पोखिए खगेन्द्र सुनार, एसपी घिसार्नेदेखि नाङ्गो भिडियो बनाउनेसम्म

    सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपा अनुशासन आयोगलाई निर्देशन, औपचारिक कार्यक्रममा प्रतिबन्ध

    बागमतीकी पूर्वसांसदसँग ‘लिभिङ टुगेदर’ मा थिए सुनार, पक्राउ गर्न प्रहरी ‘स्ट्यान्ड बाई’

    २४ घण्टाभित्रै स्पष्टीकरण दिन सांसद खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

    विवादास्पद अडिओ एआई भएको रास्वपा सांसद खगेन्द्र सुनारको दाबी (भिडिओसहित)

    विपीनको विज्ञप्तिले उब्जाएका नौ प्रश्नः छताछुल्ल विषयको आन्तरिक छानबिन ?

    रास्वपा सांसद खगेन्द्र सम्बद्ध अडियो प्रकरण: हाई अलर्टमा प्रहरी

    महिलामाथि कुटपिटको आरोपमा प्रहरी हिरासतमा पुगेका थिए सांसद सुनार

    सुनाइ समितिमा सुनारविरुद्ध उजुरी : रकम उठाउने खगेन्द्र, व्यवस्थापनमा गिरि, पीडित महिलाको बयानमा होस्टाइलको खतरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images