काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरमा बस्ने नागरिकसरह राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधा पाउनुपर्ने बताएका छन् ।
अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनले राज्यबाट उपलब्ध सेवा तथा सुविधाको असमान वितरणका कारण शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा सहर केन्द्रित भएको बताए । यही कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको संख्या घट्दै गएको उनको भनाइ थियो ।
नागरिकलाई समयअनुसार आवश्यक सेवा तथा सुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिस जुनसुकै ठाउँमा पनि बस्न सक्ने साम्पाङले बताए। उनले दुर्गम क्षेत्रका नागरिकले नदी तर्न तुइन प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए ।
साम्पाङको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुंगे पुल निर्माणसँग जोडिएको बताइएको छ। उक्त स्थानका स्थानीय बासिन्दा जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले झोलुंगे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
खडीखेतमा झोलुंगे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको छ। यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, निर्माण कार्य सुरु हुने समय र स्थानीय बासिन्दाले तुइन प्रयोग गर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।
दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावका कारण नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।–रासस























