काठमाडौं – कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ । सम्भावित बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको हो ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै विपद्को जोखिमलाई ध्यानमा राखेर आवश्यक तयारी गर्न निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्बारे सतर्क रहन आग्रह गरेपछि स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन भनिएको हो ।
एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न भनिएको छ । तोकिएका व्यक्तिको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ ।
सम्भावित विपद्का बेला आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्बन्धित हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । साथै, स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न भनिएको छ ।
विपद्का कारण घाइते हुने तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्नुपर्ने परिपत्रमा उल्लेख छ । एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ ।
एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ। यसका लागि ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ प्रणालीमार्फत विवरण उपलब्ध गराउन भनिएको छ ।
सम्भावित विपद्का बेला स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन, आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य टोली परिचालन गर्न एकाइले निर्देशन दिएको छ ।






















