काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाई मंसिर २ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये न्यूनतम १ करोड ५० लाख इकाई अर्थात् बिक्री भएको कुल इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस योजनामा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाई निष्कासन बन्द हुने मिति छिटोमा मंसिर ७ गते तोकिएको छ । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि मंसिर १६ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ ।
सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो । यसको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने अवधि १० वर्षको हुनेछ । योजना सञ्चालनका लागि न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरिने र १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ ।
योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।






















