काठमाडौं– ‘पानी पर्याप्त छैन, हामीलाई एक्स्ट्रिम चाहिन्छ !’ अत्यन्त ऊर्जाशील र आकर्षक यो नारा नेपालका ठूला शहर बजारदेखि गाउँघर दुरदराजसम्म आफ्नो प्रभुत्व जमाउनका लागि सडक किनारका ठूला होर्डिङ बोर्ड, सामाजिक सञ्जाल अभियान, मूलधारका सञ्चारमाध्यम, चिया पसलदेखि विलासी होटलसम्म एक्स्ट्रिम इनर्जी ड्रिंकको आक्रामक रूपमा प्रचार गरेको भेटिन्छ ।
ललितपुरस्थित एग्रो थाई फुड्स प्रालि. द्वारा उत्पादित ३३० मिलिलिटरको यो पेयलाई ‘गेम चेन्जिङ इनर्जी ड्रिंक’ अर्थात् ‘खेल बदल्ने इनर्जी ड्रिंक’ का रूपमा प्रचार गरिएको छ । खेलकुद प्रायोजन, प्रवद्र्धनात्मक उपहार तथा ‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ जस्ता विज्ञापन अभियानमार्फत यसले बजारमा उल्लेख्य लोकप्रियता हासिलका लागी करोड होईन अर्वौ रकम खचिरहेको छ ।
तर, यस उत्पादनबाट वास्तवमै कति फाइदा हुन्छ भन्ने प्रश्न भने उठिरहेको छ । के यो साँच्चिकै शरीरलाई अतिरिक्त ऊर्जा दिने पेय हो वा स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने पेयलाई आकर्षक ढंगले बजारमा बेचिएको मात्र हो ? स्वास्थ्यकर्मी, पोषणविद् तथा उपभोक्ता अधिकारकर्मीहरूले सम्भावित भ्रामक विज्ञापन र इनर्जी ड्रिंकको सेवनबाट उत्पन्न हुन सक्ने स्वास्थ्य प्रभावबारे चिन्ता व्यक्त गर्न थालेका छन् ।
उत्पादनको प्याकेजिङमा मधुमेह भएका व्यक्ति, बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला र क्याफिनप्रति संवेदनशील व्यक्तिले सेवन नगर्न चेतावनी दिइएको छ । तर, यस्तो चेतावनी सानो अक्षरमा लेखिएको हुँदा धेरै उपभोक्ताले त्यसलाई सहज रूपमा देख्न वा बुझ्न नसक्ने अवस्था हुन सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सीमित साक्षरता भएका व्यक्तिले यस्तो चेतावनी बेवास्ता गर्न सक्ने सम्भावना रहन्छ। परिणामस्वरूप, कतिपयले यसलाई सामान्य सफ्ट ड्रिंकजस्तै सम्झेर सेवन गर्ने गरेका छन् ।
इनर्जी ड्रिंकलाई तत्काल ऊर्जा, आधुनिक जीवनशैली र सामाजिक प्रतिष्ठासँग जोडेर प्रचार गरिए पनि स्वास्थ्य विज्ञहरूले यसको उत्तेजक प्रभाव अस्थायी हुने बताएका छन् । पोषणविदहरूका अनुसार छोटो समयका लागि ऊर्जा बढेको महसुस भए पनि त्यसपछि विभिन्न प्रतिकूल स्वास्थ्य प्रभाव देखिन सक्छन्। उनीहरूका अनुसार आज ‘गेम चेन्जर’ भनेर प्रचार गरिएका यस्ता उत्पादनले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम रहन्छ ।
नेपालमा उपलब्ध इनर्जी ड्रिंकमा एक्स्ट्रिम मात्र छैन। अन्तर्राष्ट्रिय ब्रान्ड रेड बुल तथा स्टिङ लगायतका उत्पादनले पनि नेपाली बजारमा बलियो उपस्थिति बनाएका छन् । यस्ता पेयमा सामान्यतः क्याफिन, टोरिन, चिनी तथा विभिन्न भिटामिनको मिश्रण हुने गर्छ । लोकप्रिय भए पनि स्वास्थ्य विज्ञहरूले यस्ता पेयको अत्यधिक सेवनले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।
मानव जिवनमा बढ्दो स्वास्थ्य जोखिम
स्वास्थ्यकर्मीहरूका अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंकमा क्याफिनबाहेक ११ भन्दा बढी रासायनिक तत्व समावेश छन् । ३३० मिलिलिटरको एक बोतलमा करिब १०० मिलिग्राम क्याफिन हुने बताइएको छ, जुन कडा एक कप कफीमा पाइने क्याफिनको मात्रासँग तुलनायोग्य हो । दिनमा धेरै बोतल सेवन गर्ने बानीले विशेषगरी युवा उपभोक्ताको स्नायु प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने विशेषज्ञहरूको भनाइ छ ।
अर्को प्रमुख तत्व टोरिनले क्याफिनको प्रभावलाई अझ बढाउन सक्ने विज्ञहरू बताउँछन् । अत्यधिक सेवनले मुटुको धड्कनमा अनियमितता, रक्तचाप वृद्धि तथा निद्रामा समस्या निम्त्याउन सक्ने बताइएको छ ।
त्यसैगरी, इनर्जी ड्रिंकमा प्रयोग हुने डेक्स्ट्रोज तथा ग्लुकोज–फ्रुक्टोज सिरप रगतमा छिटो अवशोषित हुन्छ । विश्व स्वास्थ्य संगठनले वयस्कका लागि दैनिक चिनीको सेवन करिब २५ देखि ३६ ग्रामसम्म सीमित गर्न सिफारिस गरेको अवस्थामा केही इनर्जी ड्रिंकको एक बोतलमै उक्त सीमाको नजिक वा सोभन्दा बढी चिनी हुन सक्ने बताइएको छ । यसले मोटोपन, फ्याटी लिभर तथा टाइप–२ मधुमेहको जोखिम बढाउन सक्ने सम्भावना रहन्छ ।
स्वास्थ्य विज्ञहरूले सोडियम बेन्जोएटजस्ता संरक्षक तत्वप्रति पनि चिन्ता व्यक्त गरेका छन् । निश्चित परिस्थितिमा सोडियम बेन्जोएटले साइट्रिक एसिड वा एस्कोर्बिक एसिडसँग प्रतिक्रिया गरी बेन्जिन निर्माण गर्न सक्ने बताइन्छ । बेन्जिनलाई गम्भीर स्वास्थ्य जोखिमसँग जोडिएको रासायनिक यौगिकका रूपमा लिइन्छ ।
जनस्वास्थ्यमा बढ्दो प्रभाबको विषयमा बढ्दो चिन्ता
जनस्वास्थ्य विज्ञहरूका अनुसार नेपालका सहरी तथा ग्रामीण दुवै क्षेत्रमा इनर्जी ड्रिंक सेवन गर्ने प्रवृत्ति व्यापक बन्दै गएको छ । कतिपय अवस्थामा मानिसहरूले दूध, दही र मोहीजस्ता परम्परागत तथा पोषणयुक्त पेय पदार्थको स्थानमा बजारमा आक्रामक रूपमा प्रचार गरिएका इनर्जी ड्रिंक सेवन गर्न थालेका छन् ।
शारीरिक श्रम गर्ने, जिम जाने, पदयात्रा गर्ने वा कृषि क्षेत्रमा काम गर्ने कतिपय मानिसले यस्ता पेयलाई प्रभावकारी जलपूर्ति गर्ने माध्यमका रूपमा गलत रूपमा बुझ्ने गरेको विज्ञहरू बताउँछन् । तर, सामान्यतः इनर्जी ड्रिंकले शरीरमा पर्याप्त जलपूर्ति गर्दैन । बरु कतिपय अवस्थामा यसले शरीरमा पानीको कमी तथा त्यससँग सम्बन्धित स्वास्थ्य समस्या बढाउन सक्ने जोखिम रहन्छ ।
विशेषगरी बालबालिका र किशोरकिशोरी यस्ता पेयको अत्यधिक सेवनबाट बढी प्रभावित हुन सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ । अत्यधिक सेवनले उनीहरूको संज्ञानात्मक विकास, एकाग्रता, स्मरणशक्ति तथा समग्र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने बताइएको छ ।
दीर्घकालीन सेवनलाई कलेजो, मिर्गौला तथा मुटुसम्बन्धी रोगको बढ्दो जोखिमसँग जोडिएको छ । साथै, ग्यास्ट्राइटिस तथा एसिड रिफ्लक्सजस्ता पाचनसम्बन्धी समस्या पनि देखिन सक्ने विज्ञहरू बताउँछन् । त्यसैले स्वास्थ्यकर्मीहरूले पानी, दूध, मोही, ताजा फलफूल तथा नरिवल पानीजस्ता स्वस्थ विकल्पलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
डा. अरुणा उप्रेतीसहित अन्य स्वास्थ्य विज्ञहरूले एक्स्ट्रिम र रेड बुलजस्ता उत्पादनको माग बढिरहेको बताएका छन् । यस्ता पेयले केही समयका लागि उत्तेजना वा स्फूर्ति प्रदान गर्न तथा उपभोक्ताको रुचि पूरा गर्न सक्ने भए पनि दीर्घकालीन स्वास्थ्यमा असर पार्न सक्ने उनीहरूको भनाइ छ । त्यसैले धेरै पोषणविद् तथा चिकित्सकले सम्भव भएसम्म इनर्जी ड्रिंकको सेवन सीमित गर्न वा नगर्न सुझाव दिएका छन् ।
वालेन सरकारलाई नियमनको चुनौती
नेपालले सन् २०१९ मा क्याफिनयुक्त इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्धपछि नेपाली बजारमा स्वदेशमै उत्पादन हुने यस्ता पेयको संख्या बढेको बताइएको छ । तीमध्ये केही उत्पादनको गुणस्तर र नियामकीय निगरानीलाई लिएर समेत प्रश्न उठ्दै आएपनि हालको सरकारलाई समेत प्रभाबमा राखेर केहि सरकारलाई बढि राजश्व तिरेको त कहिले विपत्तिमा सहयोग गरेको देखाएर छानवीनमा समेत प्रभाब जमाएको छ ।
हाल नेपालमा इनर्जी ड्रिंकमा अधिकतम क्याफिनको मात्रा, चिनीको मात्रा तथा नाबालिगलाई बिक्रीमा लगाउनुपर्ने प्रतिबन्धसम्बन्धी व्यापक र स्पष्ट नियमनको अभाव रहेको बताइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य पदार्थको अनुगमनका लागि जिम्मेवार भए पनि नियमन र कार्यान्वयन प्रभावकारी भए–नभएको विषयमा प्रश्न उठ्ने गरेका छन् ।
हालै नेपाल विकास अनुसन्धान संस्थानले आयोजना गरेको एक कार्यक्रममा पूर्ववातावरणमन्त्री गणेश शाह, पूर्वस्वास्थ्यमन्त्री डा. तोसिमा कार्की तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेर्चनलगायतले चिनीजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ तथा मदिरामा स्वास्थ्य कर उल्लेख्य रूपमा बढाउनुपर्ने धारणा राखेका थिए ।
उनीहरूले चिनीको मात्राका आधारमा कर निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने तथा खानेपानी, चिनी नहालेको दूध र चिनीविहीन पेयजस्ता स्वस्थ विकल्पलाई करबाट छुट दिनुपर्ने प्रस्ताव गरेका थिए । यस्तो करबाट प्राप्त राजस्वलाई मधुमेह रोकथाम, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बिमा तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रममा प्रयोग गर्न सकिने उनीहरूको तर्क थियो ।
तर, नसर्ने रोगको बढ्दो भारका बाबजुद उक्त प्रस्ताव आर्थिक वर्ष २०८३/८४ को राष्ट्रिय बजेटमा समावेश हुन सकेन । नेपालमा हुने कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने बताइँदै आएको छ ।

ऊर्जा पेयलाई पानीको विकल्प मान्ने कि नमान्ने ?
एक्स्ट्रिमको बजार प्रवद्र्धन ऊर्जा र स्फूर्तिसँग जोडिएको छ। क्याफिनले केही समयका लागि सतर्कता बढाउन सक्ने भए पनि ऊर्जा पेयलाई पानीको विकल्पका रूपमा बुझ्नु उचित हुँदैन ।
अमेरिकी बालरोग विशेषज्ञहरूको अध्ययनले ऊर्जा पेय र खेलकुद पेय फरक उद्देश्यका उत्पादन भएको उल्लेख गरेको छ। ऊर्जा पेयमा क्याफिन मुख्य उत्तेजक तत्व हो भने खेलकुद पेयको उद्देश्य लामो समयको कडा शारीरिक गतिविधिमा पानी, कार्बोहाइड्रेट र इलेक्ट्रोलाइट पुनःपूर्ति गर्नु हो ।
एक्स्ट्रिमको लेबल र गुणस्तरमा खोट
नेपालमा ऊर्जा पेयको संरचना र लेबल दाबीबीचको सम्बन्धबारे यसअघि पनि अध्ययन भएको छ । २०२५ मा प्रकाशित नेपाली अध्ययनले नेपालमा उपलब्ध १० विभिन्न ऊर्जा पेय परीक्षण गर्दा केही उत्पादनमा लेबलमा उल्लेखित क्याफिन र टोरिनको मात्रा तथा प्रयोगशाला परिणामबीच अन्तर देखिएको जनाएको थियो।
उक्त अध्ययन एक्स्ट्रिममाथि गरिएको परीक्षण भने होइन । तर, नेपालमा ऊर्जा पेयको लेबल र वास्तविक संरचना परीक्षण गर्ने आवश्यकता देखाउने अनुसन्धानका रूपमा यसलाई लिन सकिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको गुणस्तर र सुरक्षासम्बन्धी अनुगमन गर्छ । विभागले खाद्य तथा दाना पदार्थका अनिवार्य गुणस्तर मापदण्ड तथा पेय पदार्थसम्बन्धी मापदण्डसमेत लागू गरेको छ ।
यस अवस्थामा एक्स्ट्रिमको हकमा पनि क्यानमा उल्लेखित क्याफिन, चिनी तथा अन्य सामग्रीको मात्रा उत्पादनको वास्तविक संरचनासँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
खेलकुदमा सहयोग देखाएर तीव्र बजार विस्तारको राणनीति
स्वास्थ्यसम्बन्धी बहसका बीच एक्स्ट्रिमले खेलकुदलाई आफ्नो बजार प्रवद्र्धनको प्रमुख माध्यम बनाएको छ । २०८३ असारमा सार्वजनिक विवरणअनुसार एक्स्ट्रिमले नेपाल प्रिमियर लिगका काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी ६ फ्रेन्चाइज टोलीसँग तीन वर्षका लागि शीर्ष प्रायोजन सम्झौता गरेको छ ।
यसअघि ब्रान्डले महिला राष्ट्रिय क्रिकेट टोलीसँग पनि प्रायोजन सम्झौता गरेको सार्वजनिक भएको थियो । खेलकुदसँगको यस्तो साझेदारीले युवा तथा खेलप्रेमी उपभोक्तामाझ ब्रान्डको पहुँच विस्तार गर्ने रणनीति देखाउँछ ।

एक्स्ट्रिमको क्यानमा परीक्षणमा पटक पटक फेल ?
एक्स्ट्रिमको क्यानमा उल्लेखित विवरणअनुसार ३३० मिलिलिटरमा करिब ९९ मिलिग्राम क्याफिन देखिन्छ। तर चिनी, टोरिन र अन्य सामग्रीको वास्तविक मात्रा तथा लेबलमा गरिएको दाबी उत्पादनसँग कति मेल खान्छ भन्ने विषयमा थप परीक्षण आवश्यक छ ।
बढ्दो बजार, आक्रामक विज्ञापन र खेलकुद प्रायोजनसँगै उपभोक्ताले आफूले सेवन गरिरहेको पेयमा कति क्याफिन, चिनी र अन्य पदार्थ छन् भन्ने स्पष्ट जानकारी पाउनु आवश्यक छ ।
त्यसैले अबको बहस ‘एक्स्ट्रिम राम्रो कि नराम्रो’ भन्दा पनि क्यानमा लेखिएको विवरण र वास्तविक उत्पादनबीच कति मेल छ ? भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

राजस्व छलीको समेत आरोपको अहिलेसम्म भएन्न छानवीन
स्वास्थ्यसम्बन्धी चिन्तासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक पछिल्लो समय कर तथा राजस्वसम्बन्धी अनियमितताको आरोपमा समेत जोडिएको छ ।
कानुन कार्यान्वयन गर्ने निकायले काभ्रेपलाञ्चोकको बनेपामा आवश्यक कानुनी तथा राजस्व प्रक्रिया पूरा नगरी वितरण भइरहेको अवस्थामा उक्त उत्पादनको ठूलो परिमाण फेला पारेको बताइएको छ ।
कम्पनीले आक्रामक प्रचार र उपभोक्तामा स्वास्थ्य जोखिमबारे सीमित जानकारीको फाइदा उठाइरहेको दाबी गरेका छन् । साथै, राज्यको राजस्व संकलन प्रक्रियालाई समेत कमजोर बनाउने गतिविधि भइरहेको हुन सक्ने प्रश्न उठाइएको छ ।
सम्बन्धित निकायले यस विषयमा थप अनुसन्धान अघि बढाएको बताइएको छ । अनुसन्धानबाट आउने निष्कर्षले जनस्वास्थ्यसँगै नियामकीय अनुपालनका विषयमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ । नेपालमा इनर्जी ड्रिंकको तीव्र विस्तारले स्वास्थ्य विज्ञ, नीतिनिर्माता तथा उपभोक्ता अधिकारकर्मीबीच महत्वपूर्ण बहस सिर्जना गरेको छ ।
यस्ता उत्पादनलाई तत्काल ऊर्जा र आधुनिक जीवनशैलीको प्रतीकका रूपमा प्रचार गरिए पनि अत्यधिक क्याफिन तथा चिनीको मात्रा, सम्भावित स्वास्थ्य जोखिम, अपर्याप्त नियमन तथा आर्थिक अनियमिततासम्बन्धी आरोपले सार्वजनिक चासो बढाएको छ । इनर्जी ड्रिंकको सेवन बढ्दै जाँदा विज्ञहरूले प्रभावकारी नियामकीय निगरानी, उपभोक्तामा पर्याप्त जनचेतना तथा स्वस्थ पेय पदार्थको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिएका छन् ।


विश्व खबर 














