काठमाडौं– अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नमीठो हार व्यहोरेको छ । निर्वाचनको नतिजापछि ट्रम्पको आलोचना गर्दै आएका विश्वका केही नेताहरूले डेमोक्रेटिक पार्टीको जितको स्वागत गरेका छन् ।
स्पेनका वामपन्थी प्रधानमन्त्री पेद्रो सान्चेजले अमेरिकी मतदाताले घृणा, जलवायु परिवर्तनलाई अस्वीकार गर्ने सोच र विशेषाधिकार प्राप्त सीमित वर्गविरुद्ध मतदान गरेको बताएका छन् ।
त्यस्तै नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले अमेरिकामा अहिले त्यस्ता आवाजहरू उठ्न थालेको बताएका छन्, जसका विचार नर्वेको ओस्लोले अपनाउँदै आएका सिद्धान्तसँग बढी मेल खान्छन् ।
केही साताअघि मात्रै राष्ट्रपति ट्रम्पले नोबेल शान्ति पुरस्कार नदिएको विषयलाई लिएर नर्वेको आलोचना गरेका थिए ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अमेरिकी निर्वाचनको नतिजाले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ चरणको सुरुवात गर्ने बताएका छन् ।
यसअघि ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत नागरिकविरुद्ध नरसंहार भइरहेको आरोप लगाएका थिए ।
त्यस्तै युरोपेली संसद्की उपाध्यक्ष क्रिस्टल शाल्डेमोसले निर्वाचनको नतिजाप्रति आफू सतर्कतासहित आशावादी रहेको बताएकी छन् । उनले यस नतिजाले युक्रेनलाई थप अन्तर्राष्ट्रिय सहयोग र समर्थन प्राप्त हुने अपेक्षा पनि व्यक्त गरेकी छन् ।




















