images
images
  • सर्त पूरा नभएसम्म हर्मुज नखुल्ने इरानको चेतावनी, समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त

    काठमाडौं– इरानले हर्मुज जलघाँटी पुनः खोल्नुअघि अमेरिकाले आफ्ना सातवटै सर्त स्पष्ट रूपमा सम्बोधन गरी कार्यान्वयन गर्नुपर्ने जनाएको छ । इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकी प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै माग पूरा नभएसम्म जलघाँटी नखोलिने स्पष्ट पारेका छन् ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सामाजिक सञ्जाल एक्समा अमेरिकाको प्रतिक्रिया विश्वसनीय नरहेको उल्लेख गरेका छन् । इरानका अधिकार र मागलाई पूर्ण रूपमा सम्बोधन गरी कार्यान्वयन गरेपछि मात्रै हर्मुज जलघाँटी पुनः खोलिने उनको भनाइ छ ।

    यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पनि आफ्ना माग पूरा नभएसम्म अमेरिकासँग कुनै सम्झौता नहुने बताएका छन् । उनले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता कुनै पनि कूटनीतिक प्रक्रियाको प्रमुख र सम्झौता गर्न नसकिने सर्त भएको स्पष्ट पारेका छन् ।

    इरानका अनुसार गत जुन १८ मा इरान र अमेरिकाबीच हस्ताक्षर भएको समझदारीपत्रको पहिलो बुँदामै सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय उल्लेख छ ।

    यसअघि सेप्टेम्बर २२ मा इरानले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष शत्रुता अन्त्य गर्न र आफ्ना सर्त पूरा भए सात दिनभित्र हर्मुज जलघाँटी खोल्ने प्रस्ताव पठाएको थियो । त्यसपछि दुवै पक्षबीच सन्देश आदानप्रदान भएको थियो । इरानले आफ्नो प्रस्तावप्रति सद्भाव देखाउँदै सात दिनको समयसीमालाई दुई दिनमा झारेको बाघाईले सोमबार बताएका थिए ।

    गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । त्यससँगै इरानले हर्मुज जलघाँटीमाथिको नियन्त्रण पनि कडा बनाएको थियो ।

    दुवै पक्षबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    समझदारीअनुसार दुवै देशले इरानको आणविक कार्यक्रमबारे अन्तिम सहमतिमा पुग्न र प्रतिबन्ध हटाउने विषयमा ६० दिनभित्र वार्ता गर्ने तय भएको थियो । उक्त समयसीमा अगस्ट १७ मा समाप्त हुने भए पनि बढ्दो तनावका कारण वार्तामा उल्लेख्य प्रगति हुन सकेन ।

    यसैबीच हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका चारवटा तेल ट्याङ्कर समुद्री बारुदी धरापमा परेर ध्वस्त भएको इरानले दाबी गरेको छ । ती ट्याङ्करमा आगलागी भएको र अझै जलिरहेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले जनाएको छ ।

    आईआरजीसीले बुधबार सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा हर्मुज जलघाँटीको दक्षिणी भागमा रहेको प्रतिबन्धित मार्गबाट जान खोजेका चारवटा तेल ट्याङ्कर नौसैनिक बारुदी धरापमा परेको उल्लेख गरेको छ ।

    तीबाहेक अन्य दुईवटा जहाजलाई समेत रोकिएको इरानको दाबी छ । इरानी सेनाले जलघाँटी क्षेत्रमा एउटा ड्रोन खसालेको पनि जनाएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले आक्रमण गरेको बताएको एक दिनपछि इरानको यस्तो दाबी सार्वजनिक भएको हो । यसअघि हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा आक्रमण भएको विवरण सार्वजनिक भएको थियो ।

    तेहरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ । युद्ध सुरु भएदेखि नै आफ्नो अनुमति नलिई जलघाँटी पार गर्न खोज्ने जहाजलाई इरानले निशाना बनाउँदै आएको छ ।

    गत फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको द्वन्द्व महिनौँदेखि गतिरोधमा छ । अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता जारी रहे पनि कूटनीतिक समाधानको खासै सङ्केत देखिएको छैन ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images