काठमाडौं– सरकारले गत शुक्रबार गरेको पत्रकार पक्राउको नाटक मञ्चनको पर्दा खुलेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेपछि यो खेलको पर्दा खुलेको हो ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई हटाउने निर्णय गरेको हो । बुधबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको थियो । अब प्रहरीको नेतृत्वमा उनकै ब्याची केसीलाई ल्याइएको हो ।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । १८ दिनसम्म बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबार बसेसँगै सरकारले नियमित कामकारबाहीलाई अघि बढाएको थियो ।
कार्कीमाथि रास्वपाकै सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोशाक खरिदमा हिनामिनाको आरोप लगाउँदै आएका थिए । पछिल्लो पटक बिचौलियाका रुपमा चर्चित इनम सापकोटासँग पनि उनी र अर्का एआईजी राजन अधिकारी सम्पर्कमा रहेको विवरण आएको थियो ।
यसअघि सरकारले इनमसँग सम्पर्कमा रहेको प्रमाण भेटिएको भन्दै सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पनि पदबाट बर्खास्त गरिसकेको छ ।
पछिल्लो समय विवादास्पद व्यक्ति इनम सापकोटासँग उच्चपदस्थ व्यक्तिहरूको सम्बन्ध जोडिएका विषय सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठकसमेत प्रभावित हुँदै आएको थियो ।
पछिल्लोपटक असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसपछि बस्न सकेको थिएन । मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार र बिहीबार बस्ने अभ्यास रहे पनि आवश्यकताअनुसार प्रधानमन्त्रीले जुनसुकै बेला विशेष बैठक बोलाउन सक्ने व्यवस्था छ ।
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर सरकारले नेतृत्व दिएका एआईजी मनोज केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा थिए । वि.सं. २०८२ असोज ५ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो । त्यहाँबाट उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए ।
दानबहादुर कार्कीको आईजीपी नियुक्तिका बेला कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए । कार्की, अधिकारी र केसी २०५४ साल चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । अर्थात् उनी कार्कीकै सहकर्मी र ब्याचका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए । लामो समयदेखि अलपत्र रहेको शरणार्थी प्रकरणको जाहेरी अघि बढाएर केसीले २०७९ साल चैत १२ मा यो प्रकरणका तीन आरोपीलाई समातेका थिए ।
नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि यो प्रकरणमा अनुसन्धान अघि बढेको थियो ।
पछि यो प्रकरणमा संगठित अपराधको कसुरअन्तर्गत अनुसन्धान भयो र पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणताका केसी एसएसपी थिए । उनकै नेतृत्वको टोली कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको निवास पुगेको थियो । त्यही कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो भने सरकारमा कांग्रेस रहेसम्म उनले महत्त्वपूर्ण पोस्टिङ पाएका थिएनन् । भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भएको बेला २०८० साल भदौ ४ मा तत्कालीन सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।



















