काठमाडौं –पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा कयौँ उच्च पदस्थ र व्यापारीसम्मलाई पोलेका छन्। उनको बयानमा पूर्वप्रधानन्यायाधीश जबरा, प्रभुशमशेर जबरा (चोलेन्द्रका भाइ) भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा (पार्टीको आधिकारिकतासम्बन्धी विवादमा), कांग्रेसकै पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ, अर्का नेता दीपक खड्का र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीको नाम आएको छ।
सापकोटाको बयानमा आएको अर्को राजनीतिक रूपमा संवेदनशील विषय नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद हो।
उनले कांग्रेसमा गगनकुमार थापाको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको दाबी गरेका छन्। उक्त प्रकरणमा सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिएको उनको बयानमा उल्लेख छ।
सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूलाई गगन थापा र निर्वाचन आयोगका सगुनशमशेर राणालाई सहयोग गर्न भनेको पनि दाबी गरेका छन्।
उनले कांग्रेस नेता दीपक खड्काले आफूलाई जबरासँग चिनजान गराएको बयान दिएका छन्। यसैगरी कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठको जग्गासमेत आफ्नो नाममा लिने प्रक्रिया अघि बढेको उनले बयानमा उल्लेख गरेका छन्।
सापकोटाको यो बयानले कांग्रेसको आन्तरिक विवाद र न्यायिक प्रक्रियाबीच कुनै आर्थिक लेनदेन वा अनौपचारिक पहुँचको सम्बन्ध हुन सक्न गम्भीर प्रश्न उठाएका
हाल जिल्ला प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका उनले न्यायिक, राजनीतिक र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको कारोबारबारे खुलासा गरेका हुन् ।
गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाले जिल्ला प्रहरी परिसर काठमाडौको हिरासतमा दिएको अडियो बयानमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएकोदेखि नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबीसम्म गरेका छन्।
सापकोटाले बयानका क्रममा आफू विभिन्न प्रभावशाली व्यक्तिहरूसँग व्यावसायिक साझेदारीमा रहेको, उनीहरूमार्फत् रकम परिचालन गरेको र केही न्यायिक तथा राजनीतिक विषयमा आर्थिक लेनदेन भएको दाबी गरेका छन्। उनको बयानमा उल्लेख भएअनुसारका कारोबार वास्तवमै भएका थिए वा थिएनन् र नाम जोडिएका व्यक्तिहरूको भूमिका के थियो भन्ने विषय प्रहरीको अनुसन्धानबाट खुल्दै जानेछ।






















