images
images
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १५ बस्ने दोलखा मेलुङ गाउँपालिका– ६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका– ३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका– ९ घर भएकी २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।

    पक्राउमध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रूपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूले प्रहरीकहाँ उजुरी गरेका थिए । सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर महानगरपालिका– ३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका– ३२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images