काठमाडौ –विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाका कारण नेपाल प्रहरी विवादमा परेको छ।
पत्रकार धरपकडको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्यालय र प्रहरीबिच एक अर्कालाई दोष दिने काम भएको छ। तर सरकारको निर्देशन बिना प्रहरी संञ्चालन भएको हो कि सरकारको चाल हो भन्ने बिषय रहस्यमा नै रहेको छ।
पत्रकार पक्राउ पछि नेपाल प्रहरीले शनिबार मध्यराति १ बजेर ३३ मिनेटमा प्रधानमन्त्री कार्यालयलाई पठाएको यो सन्देश पनि रहस्यमय नै छ। सन्देमा उल्लेख छ –
हालका दिनहरूमा नेपाल प्रहरी विरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारण प्रतिको विश्वास,सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धान लगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादन अन्तर्गतको सही मनसाय हो। यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सृजना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ
यसरी शुक्रबार भएको धरपकडको घटनापछि नेपाल प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो सम्बोधन गर्ने क्रममा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको स्वीकार गरेको छ।
नकारात्मक भावना फैलिन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको प्रहरीको दाबी छ।
यसअघि समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा केही पत्रकारको खोजी भइरहेको समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकार र राजनीतिक दलहरूले समेत विरोध जनाएका छन्।
विवाद चर्किएपछि आएको नेपाल प्रहरीको पछिल्लो स्पष्टीकरणले भने पत्रकारमाथिको कारबाहीको विषयमा प्रधानमन्त्री कार्यालयको चासोसमेत जोडिएको स्पष्ट गरेको छ।
यद्यपि प्रहरीले आफू राज्यको चौथो अंगका रूपमा रहेको प्रेसप्रति सकारात्मक रहेको दाबी गरेको छ। ‘नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने’ प्रहरीको भनाइ छ।
प्रधानमन्त्री कार्यालयको चासोपछि प्रहरीको साइबर ब्युरो सक्रिय भएर सञ्चारकर्मीलाई बोलाइएको तथ्य स्वीकारेपछि प्रेस स्वतन्त्रता, सरकारको चासो र प्रहरी अनुसन्धानको सीमाबारे गम्भीर प्रश्न उठेको छ।
साईबर ब्युरोको यो कदमले सत्तारुढ दल रास्वपामा समेत गंभीर चासो देखाएको छ।
प्रधानमन्त्री कार्यालय वा नेपाल प्रहरीले यस बिषयमा एक अर्कालाई दोष दिएर उम्कन नमिल्ने आवज जोडदार रुपमा उठेको छ। यस बिषयमा छानबिन गरि दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ।
यस बिषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पनि आज बस्ने भएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन् ।
बैठक बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने खरेलले जानकारी दिएका छन् ।




















