images
images
  • दिनभर सञ्चारगृहमा प्रहरीको धरपकड, चौतर्फी विरोधपछि पक्राउ परेका सबै पत्रकार रिहा

    काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीलाई लिएर नेपाल प्रहरीका सादा पोसाकमा खटिएका टोलीले सञ्चारगृहका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र सोधपुछका नाममा धरपकड गरेपछि चौतर्फी विरोध र आक्रोश सिर्जना भएको छ ।

    समाचार कक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिने र हतोत्साहित बनाउने कार्यप्रति राजनीतिक दल, प्रेस काउन्सिल तथा विभिन्न सरोकारवाला निकायले कडा विरोध जनाएपछि र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनपछि नियन्त्रणमा लिइएका सबै पत्रकारहरू शुक्रबार राति रिहा भएका छन् ।

    प्रहरी टोलीले नयाँ बानेश्वरस्थित ‘नेपाल प्रेस’को समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदी, अनामनगरस्थित ‘मोटिभेट न्युज’का अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र ‘डीएनए खबर’का प्रधान सम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। त्यसैगरी ‘नयाँ पत्रिका दैनिक’को पुतलीसडकस्थित कार्यालयमा पनि सादा पोसाकका प्रहरी टोली पुगेर वरिष्ठ संवाददाता नवराज मैनाली र सम्पादक खगेन्द्र पन्तलाई नियन्त्रणमा लिन भन्दै अढाइ घण्टाभन्दा बढी समय कार्यालयमै अडान लिएका थिए ।

    पक्राउ पुर्जी वा लिखित कानुनी आधार मागेपछि प्रहरी टोलीले शनिबार बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन मौखिक उर्दी दिँदै कार्यालय छाडेको थियो । प्रहरीले ‘दियो पोष्ट अनलाइन’को कार्यालयमा पुगेर पनि प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोजेको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका बिचौलिया इनम सापकोटाको मोबाइलमा भेटिएका विवरण र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित समाचार प्रकाशित गरेकै आधारमा प्रहरीले यो धरपकड चलाएको पाइएको छ ।

    सञ्चारगृहभित्रै प्रहरी पसेर पत्रकार धरपकड गरेको घटनाप्रति तीव्र आलोचना बढेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले यस घटनामा सरकार वा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता वा पूर्वजानकारी नरहेको दाबी गरेको छ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्री बालेनले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी कुनै पनि धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका थिए ।

    यस्तै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिँदै सरकार प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

    सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासन, संविधान र पार्टीको नीतिको ठाडो उल्लङ्घन भएको जनाएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रकाशित समाचारप्रति विमति वा कानुनी प्रश्न भए स्थापित न्यायिक प्रक्रिया र वैधानिक निकाय हुँदाहुँदै प्रहरी परिचालन गरिनु असंवैधानिक रहेको र पार्टीले यस्ता कदम स्वीकार नगर्ने बताए ।

    रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रहरीको यो शैली ‘पुलिस स्टेट’ उन्मुख भएको भन्दै भर्त्सना गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र प्रचार विभाग प्रमुख निरज आचार्यले बिनापूर्जी नागरिकलाई पक्राउ गर्नु र सञ्चारगृहमा त्रास फैलाउनु सर्वसत्तावादी अभ्यास र फाँसीवादी प्रवृत्तिको संकेत भएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उच्च पदस्थका गलत गतिविधि बाहिर ल्याएकै कारण सञ्चारमाध्यममाथि राज्य आतंक सिर्जना गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

    घटनालगत्तै प्रेस काउन्सिल नेपालले आकस्मिक बैठक डाकेर समाचार कक्षमै प्रवेश गरी बिनापुर्जी पत्रकार नियन्त्रणमा लिने र त्रास फैलाउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ । काउन्सिलले समाचार सामग्रीमा असहमति वा गुनासो भए छानबिन र अनुगमन गर्ने अधिकारप्राप्त निकाय प्रेस काउन्सिल हुँदाहुँदै सिधै प्रहरी परिचालन नगर्न सरकार र प्रहरी प्रशासनलाई सचेत गराएको छ ।

    नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले समाचार कक्षमा बर्दीधारी र सादा पोसाकका प्रहरी छिरेर पत्रकार उठाउनुलाई शाही शासनकालको झल्को दिने कदम भनेका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले यसलाई राज्य आतंकको संज्ञा दिएका छन् भने पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत खोज्न समाचार कक्षमै प्रहरी छिर्नु संविधान समाप्त हुनुसरह भएको टिप्पणी गरेका छन् ।

    जेनजी अभियन्ता रक्षा बमले सरकारको यस कदमबाट पञ्चायती गन्ध आइरहेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। चौतर्फी दबाब, राजनीतिक विरोध र प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकारहरू सोधपुछपछि शुक्रबार राति नै रिहा भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images