काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्नका लागि फिनल्यान्ड र नर्वेका शीर्ष नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुर्लभ टेलिफोन वार्ता गरेका छन्। पश्चिमी युरोपेली नेताहरूले क्रेमलिनसँग प्रत्यक्ष सम्पर्क नगर्ने लामो समयदेखिको अभ्यासलाई तोड्दै यो वार्ता भएको हो ।
फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसप्रतिको नीतिका कारण युक्रेनसँगको अमेरिकी सम्बन्ध १८ महिनायताकै तल्लो विन्दुमा पुगेको समयमा कूटनीतिक प्रक्रियामा प्रभाव पार्न यो पहल गरेका हुन् ।
नर्डिक नेताहरूले पुटिनसँगको कुराकानीपश्चात् युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग पनि टेलिफोनमा कुराकानी गरेको जेलेन्स्कीका एक सहयोगीले बताएका छन् ।
वार्तापछि जारी संयुक्त वक्तव्यमा फिनल्यान्डका राष्ट्रपति स्टबले पुटिनसँगको छलफल निष्कपट र सारभूत रहेको बताएका छन् । रुसको छिमेकी देश भएकाले युद्धको नतिजाले आफ्नो र समग्र युरोपको सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले युद्ध अन्त्यका लागि प्रत्यक्ष छलफल आवश्यक रहेको उनीहरूले स्पष्ट पारेका छन् ।
नर्वेका प्रधानमन्त्री स्टोरले युद्धले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको तथा यसको असर पुस्तासम्म रहने उल्लेख गर्दै वार्तामा तनाव कम गर्न जोड दिइएको बताएका छन् । दुवै नेताहरूले युक्रेनप्रतिको आफ्नो बलियो सहयोग जारी रहने स्पष्ट पारेका छन् । साथै, उनीहरूले यो कुराकानी आफ्ना देशको नेताका रूपमा मात्र गरेको र समग्र युरोपको तर्फबाट नबोलेको समेत स्पष्ट पारेका छन् ।
क्रेमलिनद्वारा जारी विवरणअनुसार पुटिनले आफ्ना पूर्ववत् अडानहरूबाट कुनै लचकता देखाएको संकेत मिलेको छैन । रुसी महासंघको वैधानिक हितलाई पूर्ण र निशर्त रूपमा सम्बोधन गरिएमा मात्र न्यायोचित र दीर्घकालीन शान्ति सम्भव हुने रुसले जनाएको छ। यसका साथै, युरोपेली संघ र नाटो राष्ट्रहरूको टकरावपूर्ण नीतिले द्वन्द्व लम्ब्याउन भूमिका खेलेको दाबी रुसले गरेको छ ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता पश्चिमी युरोपेली नेताहरूले मस्कोमाथि प्रतिबन्ध लगाउँदै पुटिनसँगको सम्पर्क बहिष्कार गर्दै आएका थिए । तर, उक्त अडानका कारण युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्प हावी हुँदा युरोपेली मुलुकहरू ओझेलमा परेका थिए । युरोपेली राजधानीहरूमा ट्रम्पलाई अप्रत्याशित र युक्रेनको मूल्यमा पुटिनको पक्ष लिन सक्ने नेताका रूपमा हेरिने गरिएको छ ।
हालै पुटिनले अमेरिकालाई रुसी डिजेल आपूर्ति गर्न सहमत भएको र ट्रम्पले रुसमाथिका प्रतिबन्धहरू खुकुलो पार्दै जेलेन्स्कीलाई हटाउनुपर्ने अभिव्यक्ति दिएपछि यो आशंका अझ बढेको थियो । यसका साथै, अमेरिकाले गुप्तचर विवरण आदानप्रदानमा अवरोध पुर्याएको र युक्रेनी सेनाले प्रयोग गर्ने भूउपग्रह इन्टरनेट सेवामा बाधा पुर्याएको गुनासो युक्रेनले गरेको छ ।
यसैबीच, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले फिनल्यान्ड र नर्वेका नेताहरूको पुटिनसँगको वार्ताको आलोचना गर्दै युरोप एकजुट हुनुपर्ने र रुसले शान्ति चाहेको कुनै संकेत नदेखिएको बताएकी छन् ।
अर्कातिर, रुसले भने युक्रेनलाई हतियार दिएर र प्रत्यक्ष वार्ता अस्वीकार गरेर युरोपेली सरकारहरूले युद्ध भड्काएको आरोप लगाउँदै आएको छ । रुसले पश्चिमी युरोपेली नेताहरूको अडानलाई ट्रम्पको प्रत्यक्ष संलग्नतासँग तुलना गर्दै आएको छ, जसले पुटिनसँग सम्वाद गरी शान्ति सम्झौता गराउने प्रयास गरिरहेका छन् ।






















