एजेन्सी । अमेरिकी सेनाले अर्बपति इलन मस्कको कम्पनी ’स्पेसएक्स’ लाई अन्तरिक्षका उपग्रह तथा अन्य पिण्डहरूको अनुगमन गर्ने नियन्त्रित र संवेदनशील सैन्य डेटामा विशेष पहुँच प्रदान गरेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को यो निर्णयसँगै पृथ्वीको तल्लो कक्षमा अन्तरिक्ष ट्राफिक नियन्त्रण र सञ्चालनको जिम्मा एउटै निजी कम्पनीको हातमा सुम्पिन खोजिएको भन्दै चौतर्फी चिन्ता र बहस सुरु भएको छ ।
अमेरिकी स्पेस फोर्सले स्पेसएक्सलाई अमेरिकी स्पेस कमाण्डको उच्च परिशुद्धतायुक्त डेटाबेस ‘हाई एकुरेसी क्याटलग’को पहुँच दिएको हो । यस डेटाबेसमा जमिनमा रहेका सैन्य राडार र टेलिस्कोपहरूबाट प्राप्त ‘भेक्टर कोभेरियन्स मेसेज’ समावेश हुन्छ, जसले कक्षमा रहेका १० सेन्टिमिटर (३.९३ इन्च) सम्मका साना वस्तु र उपग्रहहरूको सटीक लोकेसन ट्र्याक गर्दछ ।
यस सम्झौताको बदलामा अमेरिकी सेनाले स्पेसएक्सको ’स्टारलिंक’ उपग्रहहरूमा जडान गरिएका ‘स्टारगेज’ क्यामेरा र सेन्सर प्रणालीबाट प्राप्त डेटा प्रयोग गर्न पाउनेछ । स्टारगेज प्रणालीले आधा मिटरसम्मका वस्तुहरू मात्र देख्न सक्ने भएकाले सैन्य राडारको डेटाले स्टारलिंकका लागि थप सटीक मार्गनिर्देशन प्रदान गर्ने बताइएको छ ।
सरकारी निकायलाई कमजोर बनाएर निजीकरणको प्रयास ?
अमेरिकी सरकारको नागरिक अन्तरिक्ष ट्राफिक नियन्त्रण निकाय ‘ट्र्याफिक कोआर्डिनेसन सिस्टम फर स्पेस’लाई निष्क्रिय बनाउँदै मस्कलाई फाइदा पु¥याइएको आरोप आलोचकहरूले लगाएका छन् । सन् २०२५ मा मस्क नेतृत्वको ‘डोज’ले ट्र्याक्सका धेरै कर्मचारीहरूलाई निष्कासन गरेको थियो भने ट्रम्प प्रशासनले यसको बजेट शून्यमा झार्ने प्रस्ताव समेत गरेको थियो । ट्र्याक्सले दैनिक करिब ५० हजार सम्भावित अन्तरिक्ष टक्करहरूको व्यवस्थापन र अनुगमन गर्दै आएको छ ।
‘स्ट्यान्ड अप फर साइन्स’ संस्थामा कार्यरत पूर्व ट्र्याक्स कर्मचारी कोल डोनोभानका अनुसार यो निर्णयले स्पेसएक्सलाई अमेरिकाको अघोषित अन्तरिक्ष ट्राफिक नियन्त्रक बनाएको छ । डोनोभानले भने, ‘यो कदम कुनै एउटा ट्रक कम्पनीलाई सडकका सबै ट्राफिक लाइटहरूको नियन्त्रण दिएजस्तै हो, जसले प्रतिस्पर्धी कम्पनीको पालो आउँदा रातो बत्ती बालिदिन सक्छ ।’
व्यावसायिक अन्तरिक्ष बजार आगामी दशकमा करिब २ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा सैन्य डेटामा अभूतपूर्व पहुँच पाउँदा स्पेसएक्सले आफ्ना व्यावसायिक प्रतिस्पर्धीहरूभन्दा ठूलो लाभ हासिल गर्नेछ ।
सार्वजनिक जवाफदेहिताका लागि काम गर्ने गैर–नाफामूलक संस्था ‘पब्लिक सिटिजन’का प्रतिनिधि क्रेग होल्म्यानले भने, ‘इलन मस्कले आफ्नो राजनीतिक प्रभाव र लगानीको बदलामा सरकारबाट आकर्षक ठेक्का र असिमित सुविधाहरू प्राप्त गरिरहेका छन् ।
अर्कोतर्फ, राष्ट्रिय महासङ्घीय वातावरण प्रशासनका एक पूर्व अधिकारीले भने स्पेसएक्सले अन्तरिक्ष सुरक्षाका विषयमा उत्तरदायी भूमिका खेल्दै आएको बताउँदै सरकारी निकायहरूले नै स्पष्ट नियम र निष्पक्ष वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।
हाल इलन मस्कको स्टारलिंक कम्पनीका मात्रै कक्षमा करिब ११ हजार उपग्रहहरू सञ्चालनमा छन्, जुन सङ्ख्या आगामी वर्षहरूमा २० हजारसम्म पुग्ने अनुमान छ । सैन्य डेटामा सीमित पहुँच पाउने यो कदमले अमेरिकी सरकार स्पेसएक्सप्रति अत्यधिक निर्भर हुने खतरा बढाएको विश्लेषकहरूको ठम्याइ छ ।






















