images
images
  • ब्राजिलमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान, वामपन्थी लुला र कट्टर दक्षिणपन्थी बोलसोनारोबीच कडा प्रतिस्पर्धा

    एजेन्सी । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको (रनअफ) निर्वाचनअन्तर्गत मतदान भइरहेको छ । यस निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिभ्ला र कट्टर दक्षिणपन्थी सिनेटर फ्लाभियो बोलसोनारोबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

    तीन हप्ताअघि भएको पहिलो चरणको मतदानमा सर्वेक्षणहरूलाई गलत साबित गर्दै ४५ वर्षीय फ्लाभियो बोलसोनारोले २ प्रतिशतभन्दा कमको मतान्तरले आश्चर्यजनक अग्रता हासिल गरेका थिए । तर, दोस्रो चरणको प्रचारप्रसारका क्रममा ८० वर्षीय राष्ट्रपति लुलाले आफ्नो स्थिति सुधार गरेपछि दुवै उम्मेदवारबीचको प्रतिस्पर्धा अत्यन्तै पेचिलो बनेको छ ।

    फ्लाभियो बोलसोनारोले रिया दे जेनेरियोको उत्तरी क्षेत्रमा रहेको एक विद्यालयमा पुगेर मतदान गरेका छन्। मतदानपछि बोल्दै उनले मुलुकमा वास्तविक परिवर्तनको समय आएको र ब्राजिलले थप चार वर्ष वर्तमान अवस्था सहनै नसक्ने दाबी गरे । २० वर्षभन्दा बढी समयदेखि कंग्रेस सदस्य रहेका उनी, सन् २०२२ को चुनाव जितेका लुलाविरुद्ध ‘कूप’ को प्रयास गरेको अभियोगमा घरमै २७ वर्षको जेल सजाय काटिरहेका पूर्वराष्ट्रपति जायर बोलसोनारोका जेठा छोरा हुन्। फ्लाभियोले आफू निर्वाचित भएमा पितालाई माफी दिने र संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यता, राष्ट्रपति लुलाले आफ्नो राजनीतिक यात्रा सुरु भएको औद्योगिक सहर साओ बर्नार्डो दो काम्पोबाट मतदान गरेका छन् । मतदानपछि बोल्दै लुलाले नागरिक समाज र युवाहरूले देखाएको समर्थनप्रति आभार व्यक्त गर्दै जनताले बोलसोनारोलाई चयन नगर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन् ।

    यस निर्वाचनमा दुवै उम्मेदवारले मुलुकका लागि बिल्कुलै फरक दृष्टिकोण अघि सारेका छन् । फ्लाभियो बोलसोनारोले सुरक्षा व्यवस्था कडा बनाउन एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेको मोडलबाट प्रेरित भई पाँचवटा ‘मेगा-जेल’ (विशाल कारागार) निर्माण गर्ने र बलात्कारीहरूका लागि ‘रासायनिक बन्ध्याकरण’ (केमिकल क्यास्ट्रेसन) गर्ने जस्ता कडा नीतिहरूको प्रस्ताव गरेका छन् । यद्यपि, उनी आफैँ पनि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी दुईवटा प्रहरी अनुसन्धानको घेरामा रहेका छन् ।

    प्रचारप्रसारको अन्तिम चरणमा हिंसात्मक घटनाहरू पनि देखिएका छन् । उत्तरी मिनास जेराइस राज्यमा लुलाको पार्टीकी काउन्सिलर इआरा पिमेन्टेल सवार चुनावी र्‍यालीमा बोलसोनारोका समर्थकहरूले बोतल र इँटा प्रहार गर्दा उनी घाइते भई अस्पताल भर्ना हुनुपरेको थियो ।

    कूल १५ करोड ९० लाख मतदाता रहेको ब्राजिलको यस ऐतिहासिक निर्वाचनको नतिजा आइतबार ढिलो सम्ममा आइसक्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images