images
images
  • सीमामा भारत र चीन आमनेसामने: आईटीबीपीका डीजीको अभिव्यक्तिले मोदी सरकार घेराबन्दीमा

    काठमाडौं- अरुणाचल प्रदेशको सीमामा देखिएको तनावको स्थितिलाई लिएर भारत-तिब्बत सीमा प्रहरी (आईटीबीपी) का महानिर्देशकको बयानपछि सरकार कांग्रेस र विपक्षी दलहरूको घेराबन्दीमा परेको छ ।

    आईटीबीपीका महानिर्देशक (डीजी) शत्रुजित कपुरले बिहीबार भनेका थिए, ‘पछिल्ला केही दिनमा यस्तो स्थिति सिर्जना भयो, जसमा अरुणाचल प्रदेशका धेरै ठाउँमा दुवै पक्ष (भारत र चीन) आमनेसामने आए । यो स्थिति अहिले पनि जारी छ।’

    यस वर्ष जुलाईमा उत्तर-पूर्वी सीमामा तनाव सुरु भएपछि आधिकारिक रूपमा यसको पुष्टि भएको यो पहिलो पटक हो । जुलाईको अन्त्यदेखि अरुणाचल प्रदेशको माथिल्लो सुबनसिरी जिल्लाको असाफिला र माजा क्षेत्रमा तनाव जारी छ ।

    उक्त घटनाबारे कांग्रेसले भनेको छ, ‘प्रधानमन्त्री र उनको पूरा संयन्त्र यस गम्भीर मुद्दामा चुपचाप बसेको छ।’

    कांग्रेसका प्रवक्ता पवन खेढाले पत्रकारहरुसँग मोदी सरकार चीनसामु झुकेको आरोपसमेत लगाए ।

    त्यस्तै शिवसेना (यूबीटी) की नेता प्रियंका चतुर्वेदीले यस मामिलालाई गम्भीर बताउँदै देशका गृहमन्त्री, रक्षामन्त्री र विदेशमन्त्रीले जवाफ दिनुपर्नेमा जोड दिइन् ।

    सामाजिक सञ्जालमा पनि आईटीबीपीका डीजीको बयानलाई लिएर मानिसहरूले प्रतिक्रिया दिइरहेका छन् ।

    खासमा के भनेका थिए आईटीबीपीका डीजीले ?

    आईटीबीपीका जवानहरूका लागि हरेक वर्ष आयोजित हुने सम्मान समारोह ‘हिमवीर सम्मान समारोह’ मा बिहीबार आईटीबीपीका डीजी कपुरले अरुणाचल प्रदेश सीमामा जारी तनावको समयमा आईटीबीपीका कमाण्डोहरू सक्रिय रहेको बताए । उनले शौर्य कमाण्डो टोलीहरूको ‘असाधारण काम’ को प्रशंसा गरे ।

    उनले भने, ‘हाम्रो नयाँ गठित शौर्य कमाण्डो टोलीहरूले यसमा उत्कृष्ट भूमिका खेले। आईटीबीपीको गठन पहाडी क्षेत्रहरूमा छापामार (गुरिल्ला) बलको रूपमा भएको थियो र २००४ मा हामीलाई चीनसँगको सीमा सुरक्षाको जिम्मेवारी दिइयो।’

    राजस्थानको अलवरस्थित सेन्ट्रल ट्रेनिङ कलेज (सीटीसी) मा आयोजित यस कार्यक्रममा उनले आईटीबीपीले प्रयोग गर्ने हतियारहरू ५० वर्ष पुरानो रहेको र तिनको आधुनिकीकरण आवश्यक रहेको बताए ।

    ड्रोन र ड्रोनविरोधी प्रविधिमा लगानी गर्न र यसलाई विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आईटीबीपी प्रमुखले भने, ‘अब परम्परागत तरिकाले चीनको सामना गर्नु कठिन हुनेछ । किनकि चीनले आफ्ना सुरक्षा बलहरूको आधुनिकीकरणमा भारी लगानी गरेको छ र त्यो धेरै अगाडि बढिसकेको छ । तर ड्रोनमार्फत साना देशहरूले ठूला देशहरूसँग लड्न सक्छन्, जसरी हामीले रुस-युक्रेन र इरान-अमेरिका द्वन्द्वमा देखेका छौं । रुसले हरेक महिना दैनिक १० देखि १५ हजार सैनिकको बलिदान दिइरहेको छ।’

    डीजी कपुर भने यही अक्टोबर ३१ मा सेवानिवृत्त हुँन लागेको बीबीसी हिन्दीले जनाएको छ ।

    -एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images