काठमाडौं । बिरामीको व्यक्तिगत क्यान्सर जीन उत्परिवर्तनलाई लक्षित गरी तयार पारिएको नयाँ एमआरएनए क्यान्सर भ्याक्सिनले छालाको क्यान्सर (मेलानोमा) दोहोरिने वा दुई वर्षभित्र बिरामीको मृत्यु हुने जोखिमलाई उल्लेख्य रूपमा घटाएको एक क्लिनिकल ट्रायलको नतिजाले देखाएको छ ।
‘इन्टिस्मेरान’ नाम दिइएको यो भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलमा सकारात्मक नतिजा देखाउने विश्वकै पहिलो व्यक्तिगत क्यान्सर भ्याक्सिन बनेको छ ।
अष्ट्रेलियाको नेतृत्वमा विश्वभरका १५७ स्थानमा सञ्चालन गरिएको यस परीक्षणमा १ हजार १३७ जना मेलानोमाका बिरामीहरू सहभागी थिए। ती सबै बिरामीको क्यान्सर शल्यक्रिया गरी निकालिसकिएको भए पनि पुनः दोहोरिने उच्च जोखिममा थिए ।
परीक्षणका क्रममा सबै बिरामीलाई १२ महिनासम्म ‘पेम्ब्रोलिजुमाब’ नामक इम्युनोथेरापी औषधि दिइएको थियो भने केही बिरामीलाई थप रूपमा इन्टिस्मेरान भ्याक्सिन पनि प्रदान गरिएको थियो । उपचारको दुई वर्षपछि इन्टिस्मेरान र पेम्ब्रोलिजुमाबको संयोजन प्रयोग गरिएका बिरामीहरूमा केवल पेम्ब्रोलिजुमाब मात्र लिने बिरामीको तुलनामा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशतले कम भएको पाइयो ।
तथ्याङ्क अनुसार संयोजन थेरापी पाएका ८२ प्रतिशत बिरामी दुई वर्षपछि क्यान्सरमुक्त र जीवित रहेका थिए भने पेम्ब्रोलिजुमाब मात्र पाएका बिरामीमा यो दर ७० प्रतिशत मात्र थियो ।
मेलानोमा इन्स्टिच्युट अष्ट्रेलियाकी मेडिकल डाइरेक्टर प्राध्यापक जोर्जिना लङले यस खोजलाई क्यान्सर उपचारको दृष्टिकोणमा एक मौलिक परिवर्तनको रूपमा वर्णन गरेकी छन् । उनका अनुसार, यस प्रविधिले वैज्ञानिकहरूलाई रोग दोहोरिने जोखिम घटाउन अझ व्यक्तिगत रूपमा मानव रोगप्रतिरोधी प्रणालीको उपयोग गर्ने बाटो खोलेको छ ।
यस अनुसन्धानको नतिजा ‘न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशनका लागि स्वीकृत भइसकेको छ र प्राध्यापक लङले यसलाई म्याड्रिडमा आयोजना हुने ‘युरोपियन सोसाइटी फर मेडिकल ओन्कोलोजी’ को वार्षिक सम्मेलनमा प्रस्तुत गर्दैछिन् ।
सेन्टेनरी इन्स्टिच्युटका क्यान्सर इनोभेसन्स सेन्टरकी कायममुकायम उप-निर्देशक डा. जेसामी टिफेनका अनुसार यो भ्याक्सिनले प्रत्येक बिरामीमा पाइने ३४ वटासम्म अद्वितीय जीन उत्परिवर्तनलाई लक्षित गर्दछ । यसले बिरामीको रोगप्रतिरोधी प्रणालीलाई मेलानोमा पहिचान गरी नष्ट गर्न र पुनः आउन नदिन तालिम दिन्छ ।
यद्यपि, यो उपचार मेलानोमाका सबै बिरामीका लागि उत्तिकै प्रभावकारी नहुन सक्ने र दीर्घकालीन असरबारे थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यो भ्याक्सिन सर्वसाधारणका लागि मानक उपचारको रूपमा उपलब्ध हुन अझै थप अनुसन्धान र नियामक स्वीकृतिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही वर्ष लाग्न सक्ने जनाइएको छ ।





















