काठमाडौं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार इरानको सरकार हटाउने नयाँ प्रयासहरूबारे कुराकानी भएको बताएका छन् ।
नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी इरानी शासनलाई पूर्ण रूपमा समाप्त पार्न प्रतिबद्ध छौं । मैले हिजो (आइतबार) लगायत धेरै पटक ट्रम्पसँग यस विषयमा छलफल गरिसकेको छु ।’
यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सोमबार इजरायलको अचानक भ्रमण गरी नेतान्याहुसँग इरान युद्धबारे छलफल गरेका छन् ।
प्रधानमन्त्रीका प्रवक्ता दोरोन स्पिएलम्यानले दक्षिणी नेगेभ मरुभूमि क्षेत्रमा रहेको उभ्दा एयरबेसमा उक्त भेटघाट भएको पुष्टि गरे ।
स्पिएलम्यानले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार नेतान्याहु र हेगसेथबीच ‘क्षेत्रीय खतराहरू’ र ती खतराहरूसँग आक्रामक तथा रक्षात्मक दुवै रूपमा जुध्नका लागि अमेरिका-इजरायल साझेदारीका विषयमा छलफल भएको थियो ।
पेन्टागनले भने हेगसेथको यस भ्रमणबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन ।






















