खोटाङ- त्यो गाडीको नम्बर थियो २९७६। मलाई त थाहा पनि थिएन। आमाको मन न हो। मलाई अहिले पनि सानै सम्झनु हुन्छ। छोटो बिदा । त्यसैले परिवारसंग भेट हुनु मेरो लागि पनि गज्जबकै अवसर हो । असोज २४ गते नै गाउकै काकालाई फोन गरेर ३१ गतेका लागि ममीले जीपको सिट बुक गर्नु भएको रहेछ।
दशैँको समयमा यात्रुको चाप धेरै हुने भएकाले र कार्यालयबाट पाएको छोटो बिदामा जसरी पनि ३१ गते नै घर पुग्नुपर्ने भएकाले मैले पनि सोही गाडीमा यात्रा गर्ने योजना बनाएकी थिएँ।
तर, घर जाने अघिल्लो दिन अर्थात् ३० गतेसम्म पनि गाडीको कुनै खबर नआएपछि मैले आफैँ गाडी धनी जितराज राईसँग सम्पर्क गरेकी थिएँ। उहाँले राति वा बिहानसम्म गाडीको खबर आउने बताउनुभएको थियो।
गाडीको भाडा महँगो लागेको र मलाई घरसम्म लिन आउने विषयमा पनि अन्योल रहेकाले मैले उहाँसँग कुरा गरेकी थिएँ। मैले सामान धेरै भएकाले घरबाटै लिन आउन अनुरोध गरेकी थिएँ। दशैँको माहोल, कार्यालयबाट पाएको छोटो बिदा र ३१ गते नै घर पुग्नुपर्ने बाध्यताका कारण म जसरी पनि सोही दिन घर जान चाहन्थेँ। साथै, गाडीले घरसम्म लिन आउँछ कि भन्ने आशा पनि राखेकी थिएँ।
गाडीको भाडा महँगो लागेको अवस्थामा थप पैसा तिरेर ट्याक्सी बुक गर्दा पनि जीप र बसमा खासै फरक नहुने कुरा मैले चालकलाई बताएकी थिएँ। त्यस क्रममा चालकसँग मेरो भनाभन भयो र म रिसाएर फोन काटेँ।
त्यसपछि चालकले बिहान ८ बजे कोटेश्वरसम्म आउन भनेका थिए। तर, मसँग सामान धेरै भएकाले कोटेश्वरसम्म आउन नसक्ने कुरा बताएकी थिएँ। चालकले राति गाडी आउने, दुई–तीन घण्टा आराम गरेर यात्रु लिएर जाने बताएका थिए। साथै, जाने वा नजाने निर्णय आफैँ गर्न भनेका थिए। उनको बोली र व्यवहारले मलाई असहज महसुस भयो र चित्त पनि बुझेन।
कुराकानीपछि मैले चालकको व्यवहार र गाडीको अवस्थाबारे आफ्ना साथी तथा दिदीहरूलाई पनि जानकारी गराएकी थिएँ। मैले उनीहरूलाई गाडीको चालकले मसँग यस्तो व्यवहार गरेको र यात्रा गर्दा जोखिम हुन सक्ने जस्तो महसुस भएकाले अर्को गाडी खोज्ने कुरा बताएकी थिएँ।
यसरी आमासँग पनि सबै कुरा राखेँ। चालकको व्यवहारले उहाँलाई पनि चित्त नबुझेपछि उहाँले गाडीधनीसँग कुरा गर्ने बताउनुभएको थियो। तर, संयोगवश अर्को गाडीको व्यवस्था हुन सक्ने सम्भावना देखिएपछि मैले वैकल्पिक गाडी खोज्न थालेँ
यसै क्रममा मेरी बहिनीले चिनेको एक जना चालकलाई मैले सम्पर्क गरेँ। मैले आफूलाई अत्यावश्यक रूपमा खोटाङ जानुपर्ने भएकाले गाडीको सिट मिलाइदिन अनुरोध गरेँ। उहाँले सिट बुक भइसकेको जानकारी दिनुभयो, तर अरूसँग बुझेर खबर गर्ने बताउनुभयो।
मैले उहाँलाई आशा राख्दै, “दाइ, जे भए पनि मलाई खबर गरिदिनुहोला है,” भनेँ। उहाँले खबर गर्ने आश्वासन दिनुभयो। पछि सिट मिल्ने जानकारीसहित फोन आयो र बिहान ३ बजे तयार भएर बस्न भनियो। अर्को गाडीमा सिट मिलेको खबर पाएपछि म निकै खुसी भएँ।
त्यसपछि मैले पहिले बुक गरेको गाडीका चालकलाई फोन गर्ने प्रयास गरेँ, तर फोन उठेन। त्यसपछि मैले पनि उक्त गाडीबारे थप चासो राखिनँ। बिहान ३ बजे नै तयार भएर बसेँ र अर्को गाडी मलाई लिन घरसम्म आयो। म त्यही गाडीमा खोटाङतर्फ लागेँ।
दशैँको चापका कारण बाटोमा धेरै जाम हुनुका साथै गाडी बिग्रिने लगायतका विभिन्न समस्या झेल्दै यात्रा गर्नुपरेको थियो। ती सबै घटना हुदा पनि करिब ९ बजे घर पुग्न सफल भएँ।
घर पुगेपछि गाउँकी मेरी मिल्ने साथी प्रतिनाले मलाई फोन गरेको रहेछ। म घरको सरसफाइमा व्यस्त भएकाले फोन हेर्न पाएकी थिइनँ। पछि फोन हेर्दा साथीको मिसकल देखेपछि मैले उनलाई फर्काएर फोन गरेँ।
फोन उठाउनेबित्तिकै प्रतिनाले अचम्म मान्दै भनिन्, “तँ त धेरै भाग्यमानी रहिछस् यार, त्यो गाडी त दुर्घटनामा परेछ!”
उनको कुरा सुनेर म एकछिन स्तब्ध भएँ। त्यसपछि मैले उनलाई अघिल्लो दिन चालकसँग भएको कुराकानी, उनको व्यवहारका कारण आफूलाई यात्रा जोखिमपूर्ण लागेका कुरा र त्यसैले अर्को गाडी बुक गरेको विषय बताएँ। मैले अघिल्लो दिन नै आफ्ना साथी तथा दिदीहरूलाई पनि यसबारे जानकारी गराएकी थिएँ।
त्यसपछि मैले आफ्नो परिवारका सबै सदस्यलाई पनि उक्त घटनाबारे जानकारी गराएँ। सुरुमा हामीले दुर्घटना सामान्य होला, यात्रुहरूलाई चोटपटक लागेको होला र सामान्य उपचारपछि निको होलान् भन्ने सोचेका थियौँ। तर, पछि आफ्नै गाउँका चिनजानका व्यक्तिको मृत्यु भएको खबर आउन थालेपछि हामी सबै स्तब्ध भयौँ।
आफ्नै गाउँका मानिसको मृत्यु भएको खबरले परिवार र गाउँले सबैलाई निकै दुःखी बनायो। अर्कोतर्फ, संयोगवश म पनि त्यही गाडीमा चढेको भए दुर्घटनामा पर्न सक्थेँ भन्ने सोचले मन झन् भारी भयो। मन मनै सोचे त्यो गाडीमा चढेको भए आज सम्म धेरैले हार्दिक समबेदना लेख्थे होलान् । घरमा आँशुको भेल बग्थ्यो होला ।धन्न मलाई केले छल्यो त्यो गाडी चढ्न । अहिले पनि मेरो मनमा यही कुरा खेलीरहन्छ।
मेरो परिवारका सदस्यहरूले म सुरक्षित घर फर्किएकोमा राहत महसुस गर्दै आफूलाई ठूलो भाग्यले बचाएको भन्दै धन्यवाद दिनुभयो।
यस घटनाले मलाई जीवन कति अनिश्चित हुन्छ भन्ने गहिरो अनुभूति गराएको छ। अघिल्लो दिन चालकसँग भएको सामान्य भनाभन, उनको व्यवहारप्रति चित्त नबुझ्नु, अर्को गाडी खोज्ने निर्णय र अन्ततः अर्को गाडीमा सिट मिल्नु—यी सबै घटनाले गर्दा म दुर्घटनामा परेको गाडीमा यात्रा गर्नबाट जोगिएँ।
यदि मैले अर्को गाडीको व्यवस्था गर्न नसकेको भए वा पहिले बुक गरेको गाडीमै यात्रा गरेको भए मेरो अवस्था के हुन्थ्यो भन्ने कुरा सम्झँदा अहिले पनि मन सिरिङ्ग हुन्छ। समयमै वैकल्पिक गाडी पाउनु र सुरक्षित रूपमा घर पुग्न सक्नु मेरा लागि जीवनकै अविस्मरणीय संयोग बनेको छ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा भएको गाडी दुर्घटनामा संयोगवश म चढ्नुपर्ने गाडीमा यात्रा नगरेका कारण दुर्घटनाबाट बच्न सफल भएँ। उक्त घटनाले मेरो जीवनमा ठूलो संयोग र भाग्यको महत्व महसुस गराएको छ।
विश्वखबरकर्मी बिजुता राईसंगको कुराकानीमा आधारित




















