काठमाडौं ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् ।
इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५२औं सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिएका हुन् ।
अराघचीका अनुसार शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले राखेका सर्त स्पष्ट छन् । ती सर्त समेटिएको सातदिने योजना अमेरिकासमक्ष प्रस्तुत गरिसकिएको उनले बताए ।
उनका अनुसार अमेरिकाले योजनाबारे आफ्नो धारणा प्रस्तुत गरिसकेको छ र त्यसको अहिले इरानले समीक्षा गरिरहेको छ ।
इरानको योजना अझै पनि छलफलको टेबुलमा छ”, अराघचीले भने । अमेरिकाले इरानका सर्त पूरा गरे छैटौं दिनमा ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोलिने र सातौं दिनमा वार्ता पुनः सुरु हुने उनको भनाइ छ ।
इरानका सर्त असाधारण नभएको उल्लेख गर्दै उनले ती सर्त शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू) तथा अन्य वार्ताका क्रममा अमेरिकाले यसअघि नै स्वीकार गरेका प्रतिबद्धतासँग सम्बन्धित रहेको दाबी गरे ।
अराघचीले इरान कुनै पनि धम्कीका अगाडि नझुक्ने र आफ्नो रक्षा गर्न तयार रहेको बताए । यद्यपि उनले समस्या समाधानका लागि कूटनीतिक मार्ग अपनाउन पनि इरान इच्छुक रहेको स्पष्ट पारे ।
इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानको राजधानी तेहरानसहित अन्य सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । साथै इरानले ‘स्ट्रेट अफ होर्मुज’मा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।
युद्धरत पक्षहरूबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रमा जारी युद्धलाई सबै मोर्चामा अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त समझदारीअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विषयमा अन्तिम सहमतिमा पुग्न दुवै पक्षले ६० दिनभित्र वार्ता गर्ने तय गरेका थिए । उक्त समयसीमा अगस्ट १७ मा समाप्त भए पनि दुवै पक्ष सम्झौतामा पुग्न पर्याप्त प्रगति गर्न असफल भएका थिए ।
‘स्ट्रेट अफ होर्मुज’ विश्वको प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हो । यस क्षेत्रमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति तथा विश्व ऊर्जा बजारमा असर पार्नसक्ने भएकाले होर्मुज पुनः खोल्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।






















