images
images
  • एनपीएल तेस्रो संस्करणः वेष्ट इन्डिजका चर्चित क्रिकेटर रसेल विराटनगरमा अनुबन्ध

    काठमाडौं-  वेष्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

    विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आज जानकारी गराएको छ ।

    ‘समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्यौं । विराटनगर किङ्समा स्वागत छ’, विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

    सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट इन्डिजका लागि एउटा टेष्ट, ५६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् ।

    टी-२० अन्तर्राष्ट्रियमा उनले एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटसँगै रसेलले विश्वका विभिन्न व्यावसायिक फ्रेन्चाइज लिगमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।

    इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनले दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबाट खेलेका छन् । आईपीएलमा उनको नाममा दुई हजार ६५१ रन र १२३ विकेट छन् । उनले सन् २०१४ र २०२४ मा कोलकाताबाट आईपीएलको उपाधि जितेका थिए ।

    रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल), बिग बास लिग (बीबीएल), इन्टरनेशनल लिग टी-२० र मेजर लिग क्रिकेटलगायत प्रतियोगिता पनि खेलिसकेका छन् ।

    रसेल सन् २०१२ र २०१६ मा टी-२० विश्वकप जित्ने वेष्ट इन्डिज टोलीका सदस्यसमेत थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images