images
images
  • नेपालका लागि भारतका नयाँ राजदूत सुधाकर दलेला को हुन्?

    काठमाडौं-भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार, १६ अक्टोबर २०२६ मा उनको नियुक्तिबारे औपचारिक जानकारी दिएको हो। उनले छिट्टै जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ।

    दलेला भारतीय विदेश सेवाका सन् १९९३ ब्याचका अधिकारी हुन्। नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। यसअघि सन् २०२२ देखि २०२५ सम्म उनले भुटानका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए।

    सचिवस्तरका अनुभवी कूटनीतिज्ञ दलेलासँग नेपाल–भुटान सम्बन्धदेखि आर्थिक कूटनीति र विश्व व्यापारसम्मको अनुभव

    को हुन् सुधाकर दलेला?

    Sudhakar Dalela Nepalदलेला भारतको परराष्ट्र सेवामा तीन दशकभन्दा लामो अनुभव भएका करिअर कूटनीतिज्ञ हुन्। उनले दक्षिण एसियाली छिमेकी मुलुकहरूसँगको सम्बन्ध, व्यापार तथा आर्थिक नीति, बहुपक्षीय कूटनीति र रणनीतिक साझेदारीका क्षेत्रमा काम गरेका छन्।

    उनको कूटनीतिक यात्रा इजरायलको तेल अभिभबाट सुरु भएको थियो। त्यसपछि उनले ब्राजिलको ब्रासिलिया, अमेरिकाको सिकागो र वासिङ्टन डीसी, बंगलादेशको ढाका, स्विट्जरल्यान्डको जेनेभा तथा भुटानको थिम्पुस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हाले।

    भारतको विदेश मन्त्रालयका अनुसार दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका छन्। कूटनीतिक सेवामा प्रवेश गरेपछि उनले द्विपक्षीय सम्बन्धदेखि अन्तर्राष्ट्रिय व्यापार र आर्थिक सहकार्यसम्मका विषयमा अनुभव हासिल गरेका छन्।

    प्रधानमन्त्री कार्यालयदेखि विदेश मन्त्रालयको सचिवसम्म

    दलेलाले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। त्यस क्रममा भारतका दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकहरूसँगको सम्बन्धसम्बन्धी विषयमा काम गरेका थिए।

    उनले भारतको विदेश मन्त्रालयको नर्थ डिभिजनमा सन् २००६–२००७ मा निर्देशक र सन् २०१६–२०१९ मा सहसचिवका रूपमा जिम्मेवारी सम्हाले। उक्त विभागमा रहँदा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयमा प्रत्यक्ष काम गर्ने अवसर पाएका थिए।

    यस अनुभवले उनलाई नेपालको राजनीतिक, कूटनीतिक तथा क्षेत्रीय सम्बन्धसम्बन्धी विषयसँग परिचित अधिकारीका रूपमा स्थापित गरेको छ।

    व्यापार र आर्थिक कूटनीतिमा पनि अनुभव

    दलेलासँग व्यापार नीति र आर्थिक कूटनीतिमा समेत अनुभव छ। उनले भारतको वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए। साथै, विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका थिए। सन् २०१४ देखि २०१६ सम्म उनी उक्त नियोगमा भारतका उपस्थायी प्रतिनिधिसमेत थिए।

    सन् २०२५ सेप्टेम्बर १ देखि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हालेका उनले भारतको आर्थिक कूटनीति, विकास साझेदारी, अफ्रिकासँगको सहकार्य तथा बहुपक्षीय आर्थिक सम्बन्धसम्बन्धी कामको नेतृत्व गरेका थिए। उनी ब्रिक्स, आईबीएसए र आईटुआईटुआईका लागि भारतका प्रतिनिधि संयोजक (शेर्पा) समेत थिए।

    अमेरिकामा पनि सम्हाले महत्त्वपूर्ण जिम्मेवारी

    दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेका थिए। वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा उनले सन् २०११–२०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२०–२०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन) का रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।

    यसका अतिरिक्त, भुटानका लागि राजदूतका रूपमा तीन वर्ष काम गरेको अनुभव पनि उनीसँग छ। भुटान र नेपाल दुवै भारतका महत्त्वपूर्ण हिमालयपार क्षेत्रीय साझेदार भएकाले उनको क्षेत्रीय कूटनीतिक अनुभवलाई नयाँ जिम्मेवारीसँग जोडेर हेरिएको छ।

    नेपाल–भारत सम्बन्धमा कस्तो हुनेछ भूमिका?

    दलेलाको नियुक्ति यस्तो समयमा भएको छ, जतिबेला नेपाल र भारतबीच व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी र क्षेत्रीय सहकार्यका विषय महत्त्वपूर्ण छन्। नेपालसम्बन्धी विषयमा विदेश मन्त्रालयमै काम गरिसकेका र भुटानमा राजदूतको अनुभव हासिल गरेका कारण उनले दुई देशबीचको संवादलाई अघि बढाउन भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ।

    यद्यपि, उनको कार्यकालमा नेपाल–भारत सम्बन्धका कुन विषयलाई प्राथमिकता दिइन्छ भन्ने कुरा आगामी कूटनीतिक संवाद, दुवै सरकारका निर्णय र कार्यान्वयनमा निर्भर हुनेछ।

    भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरमा कार्यरत कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलो घटना हो। यसअघि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका श्याम शरण र विनयमोहन क्वात्रा पछि भारतको विदेश सचिव बनेका थिए।

    दलेलाको नियुक्तिसँगै नेपाल–भारत सम्बन्धमा उनको लामो कूटनीतिक अनुभव कसरी उपयोग हुन्छ भन्ने चासो बढेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images