काठमाडौं– साउदी अरेबियामा आगामी जनवरीमा हुने एसिया कप फुटबल सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल-खलिफाले बताएका छन् । तर यसबारे निर्णय गर्न अहिले हतार नगर्ने उनले स्पष्ट पारेका छन् ।
सन् २०२७ को प्रतियोगिता जनवरी ७ देखि जेद्दा, रियाद र अल खोबरमा आयोजना गर्ने तय भएको छ । मध्यपूर्वमा सैन्य तनाव बढेसँगै साउदी अरेबियाको सुरक्षाबारे चिन्ता बढेको छ ।
एएफसीले नोभेम्बरको अन्त्यसम्म अवस्थाको प्रतीक्षा गर्न सक्ने र आवश्यक परे प्रतियोगिता एक वर्षपछि सार्न सकिने अध्यक्ष अल-खलिफाले बुधबार जुरिचमा बताए । अहिले भने तयारी निर्धारित समयअनुसार अघि बढिरहेको उनको भनाइ थियो ।
क्षेत्रीय तनावका कारण साउदी अरेबियाका खेलकुद प्रतियोगितासमेत प्रभावित भएका छन् । क्षेप्यास्त्र आक्रमण रोकिएको खबरपछि क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरको एसियाली च्याम्पियन्स लिगको खेल एक घण्टा ढिलो सुरु भएको थियो । साउदी घरेलु फुटबलका तीन खेल स्थगित भएका छन् भने सिक्स किङ्स स्लाम प्रदर्शनी टेनिस प्रतियोगिता डिसेम्बरको अन्त्यसम्मका लागि सारिएको छ ।
एसिया कप फुटबलमा सहभागी हुने २४ टोलीमध्ये अस्ट्रेलियाले साउदी अरेबियाको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
दक्षिण कोरियाली फुटबल खेलाडीहरूको प्रतिनिधित्व गर्ने कोरिया प्रोफेसनल फुटबलर्स एसोसिएसनले पनि बिहीबार खेलाडीको सुरक्षाबारे चिन्ता व्यक्त गरेको छ । संस्थाका अध्यक्ष ली केउन-होले मध्यपूर्वको सैन्य तनाव र अस्थिरतालाई हल्का रूपमा लिन नसकिने तथा कुनै पनि प्रतियोगिताभन्दा खेलाडी र समर्थकको जीवन र सुरक्षा महत्त्वपूर्ण हुने बताएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।























