काठमाडौं – अमेरिकी बास्केटबलका महान् खेलाडी माइकल जोर्डनले सन् १९९८ को एनबीए फाइनलमा लगाएको जर्सी १ करोड ४० लाख अमेरिकी डलरमा बिक्री भएको छ । ‘लास्ट डान्स’ सिजनसँग सम्बन्धित उक्त जर्सी बास्केटबलसँग सम्बन्धित स्मृति–सामग्रीमध्ये अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएको वस्तु बनेको छ ।
लिलामी संस्था हन्ट अक्सन्सका अनुसार हस्ताक्षरसमेत रहेको शिकागो बुल्सको उक्त जर्सी मियामीका घरजग्गा व्यवसायी रोन फर्मनले निजी बिक्री प्रक्रियामार्फत खरिद गरेका हुन् । यस बिक्रीले खेलकुदका ऐतिहासिक सामग्रीप्रति सङ्कलकहरूको बढ्दो आकर्षण र जोर्डनको विश्वव्यापी लोकप्रियतालाई पुनः उजागर गरेको छ ।
उक्त जर्सी सन् १९९८ जुन ५ मा साल्ट लेक सिटीमा युटा ज्याजविरुद्ध खेलिएको एनबीए फाइनलको दोस्रो खेलमा जोर्डनले लगाएका थिए । पहिलो खेल गुमाएको शिकागोले दोस्रो खेलमा ९३–८८ को जित निकाल्दै फाइनल शृङ्खला १–१ को बराबरीमा ल्याएको थियो । उक्त खेलमा जोर्डनले ३७ अंक, पाँच रिबाउन्ड र तीन असिस्ट गरेका थिए ।
जोर्डन र शिकागो बुल्सका लागि सन् १९९७–९८ को सिजन ऐतिहासिक थियो । टोलीले फाइनलमा युटा ज्याजलाई छ खेलमा पराजित गर्दै उपाधि जितेको थियो। त्यो जोर्डनको शिकागो बुल्सबाट जितेको छैटौँ तथा अन्तिम एनबीए च्याम्पियनसिप थियो । उनले उक्त फाइनलमा छैटौँ पटक फाइनल्स मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) को उपाधिसमेत जितेका थिए ।
सन् २०२० मा सार्वजनिक भएको लोकप्रिय वृत्तचित्र ‘द लास्ट डान्स’ यही सिजनमा केन्द्रित थियो। वृत्तचित्रले जोर्डनको खेल जीवन, बुल्स टोलीको सफल यात्रा र छैटौँ उपाधिसम्म पुग्दाको प्रतिस्पर्धालाई विश्वव्यापी दर्शकमाझ पुनः चर्चामा ल्याएको थियो । त्यसयता उक्त सिजनसँग सम्बन्धित जर्सी, जुत्ता र अन्य खेल सामग्री सङ्कलकहरूका लागि विशेष आकर्षण बनेका छन् ।




















