काठमाडौं– विश्व खेलकुदमा दक्षिण अफ्रिकाको भिन्न पहिचान छ । खासमा दुवै टीम गेम फुटबल र क्रिकेटमा दक्षिण अफ्रिकाको साख छ । पहिलो विश्वकप फुटबल आयोजना गरेको दक्षिण अफ्रिका क्रिकेटमा संसारको शक्ति राष्ट्रका रूपमा चिनिन्छ ।
विश्व राजनीतिमा नेल्सन मन्डेलाको देशको रूपमा छवि बनाएको दक्षिण अफ्रिकाले तिनै मन्डेलाको अथक प्रयासस्वरूप विश्वकप फुटबल आयोजना गर्ने पहिलो अफ्रिकी देशको रूपमा कीर्तिमान कायम गरेको थियो । अहिले भने दक्षिण अफ्रिका फेरिएको छ । दक्षिण अफ्रिकाले नयाँ लक्ष्य लिएको छ ।
दक्षिण अफ्रिकाले सन् २०३६ को ओलम्पिक आयोजनाको लागि प्रयास गरेको छ । यो सफलता पाएमा दक्षिण अफ्रिका ओलम्पिक आयोजना गर्ने पहिलो अफ्रिकी देश बन्नेछ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पहिलो बिड गर्ने र त्यसपछि दाबेदार देशका ओलम्पिक कमिटीको नेतृत्वसँग छलफल गर्नेछ । अहिलेसम्म सात देशले चासो देखाइसकेको आईओसीले जनाएको छ ।
दक्षिण अफ्रिकाले डर्बान, जोहन्सबर्ग, केपटाउनमा ओलम्पिक आयोजना गर्ने प्रस्ताव राखेको छ । डर्बानले सन् २०२२ मा कमनवेल्थ खेलकुदको आयोजना गर्ने नीति लिएको थियो । सन् २०१७ मा भने यस अभियानबाट बाहिर आएको थियो ।
भारतले पनि सन् २०३६ को ओलम्पिक आयोजनाका लागि बिड गरेको छ । भारतले अहमदावादलाई अगाडि सारेको छ । सन् २०३० को कमनवेल्थ खेलकुदको आयोजना गर्ने अहमदाबादले सन् २०३८ को एसियाली खेलकुदमा लागि पनि बिड गरी सकेको छ ।
अहमदावादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा पछिल्ला ५ मध्येका ४ संस्करणका आईपीएल फाइनल भएका छन् । सो क्रिकेट रङ्गशालाको क्षमता १ लाख ३० हजार दर्शकको छ ।
यसअघि सन् २०००, २००८ र २०२० मा गरिएको प्रयास असफल भएको टर्किएले पनि फेरि प्रयास गर्ने भएको छ । सन् २०२२ मा फिफा विश्वकप, सन् २०२२ मा विश्व पौडी च्याम्पियनशिप तथा सन् २०२३ मा विश्व एथलेटिक्स च्याम्पियनशिपको आयोजना गरेको कतारले पनि ओलम्पिक आयोजनाको दाबी गरेको छ ।
जर्मनी र दक्षिण कोरियाले पनि ओलम्पिक आयोजनामा चासो देखाइसकेका छन् । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जलस र सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रसिबेनमा आयोजना हुनेछ ।
– एजेन्सीहरुको सहयोगमा





















