काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।
अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आर्थिक अनियमितताको आरोपमा कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई समेत प्रतिवादी बनाएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले नेपाल–बहराइन फुटबल खेल, खेल सामग्री खरिद, टिकट बिक्री तथा वितरणलगायतका विषयमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
प्रतिवेदनअनुसार खेल सामग्री खरिदमा बोलपत्र प्रक्रिया पालना नगरेको, टिकट बिक्रीको रकम संस्थागत खातामा जम्मा नभएको तथा खरिद प्रक्रियामा पारदर्शिता नदेखिएको उल्लेख छ ।
मुद्दा दायर गरिएका जोशी र पाण्डे सीआईबीको नियन्त्रणमा छन् भने नेम्बाङ र राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ ।
आरोपबारे अन्तिम निर्णय अदालतबाट हुन बाँकी छ ।


विश्व खबर 



















