काठमाडौं– साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दर्जनौं गम्भीर प्रकृतिका आरोपसहित उजुरी परेका छन् । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया चलिरहँदा सुनारविरुद्ध विभिन्न उजुरी परेका हुन् ।
उजुरीमा प्रस्तावित राजदूत सुनार सांसद तथा अभियन्ता खगेन्द्र सुनारको पार्टनर भएको र उनीहरु दर्जनौं आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।
उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोडभन्दा बढी रकम अवैध रुपमा असुली गरेको र उक्त कालो धनको सम्पूर्ण व्यवस्थापन प्रस्तावित राजदूत गिरीबहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ ।
असुलिएको अवैध रकम सांसद सुनारकी श्रीमती सीता गुरुङ, भाइ सुनिल सुनारलगायत परिवारका अन्य सदस्यहरुको विभिन्न बैंक खातामा राख्ने गरिएको उजुरीमा दाबी गरिएको छ ।
यी दुईको संलग्नता पद किनबेच र प्रहरीको उच्च तहको बढुवामा समेत देखिएको दाबी उजुरीमा गरिएको छ । खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्माबाट ५० लाख रुपैयाँ असुलेको आरोप छ ।
त्यस्तै नेपाल प्रहरीका हालका एआईजी डम्बरबहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन खगेन्द्र र गिरीले रकम लिएको आरोप उजुरीमा उल्खेख छ ।
सुरुमा ५० लाख माग गरिएकोमा पछि ३३ लाख रुपैयाँ लिएर एआईजीमा बढुवा गराइएको दाबी पनि उजुरीमा गरिएको छ ।
प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै अदालतबाट प्रमाण नै नष्ट गरेको उजुरीमा दाबी गरिएको छ ।
जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो प्रमाणलाई गिरीकै सेटिङमा गायब पारी त्यसको सट्टा ३ मिनेटको मात्र अडियो राखिएको उजुरीमा उल्लेख छ ।
प्रस्तावित राजदूत सुनार र सांसद सुनारमाथि गम्भीर फौजदारी अपराधको समेत आरोप लगाइएको छ ।
खगेन्द्र सुनारले एक १८ वर्षीय बालिकालाई रोजगारीको प्रलोभनमा पारेर पटक–पटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन समेत गराएको उजुरीमा दाबी गरिएको छ ।
यसैगरी बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी पेस्तोल नै लुटेर भागेको विवरण पनि उजुरीमा उल्लेख छ । सो कुरा खगेन्द्रले पछि एउटा पोडकास्टमा आफैंले स्वीकार गरेको समेत उजुरीमा उल्लेख छ ।
ठगी गरेको पैसा फिर्ता माग्ने वा आफूहरुविरुद्ध बोल्नेलाई उनीहरुले गुण्डा नाइके गणेश लामामार्फत तर्साउने र धम्क्याउने गरेको पीडितहरुको भनाइ छ ।
यस्तो गम्भीर आपराधिक पृष्ठभूमि भएका गिरीबहादुर सुनारलाई राजदूत बनाउन खगेन्द्र सुनार र ओशो तपोवन धाउने एक गुटले मन्त्रालयमै पुगेर अनुचित दबाब र लबिङ गरेको उजुरीमा खुलाइएको छ ।
साथै कुनै कूटनीतिक क्षमता नै नभएका उनलाई राजनीतिक भागबन्डाको आधारमा सिफारिस गरिएको दाबीसमेत उजुरीमा गरिएको छ ।
उजुरीमा आपराधिक पृष्ठभूमि, नैतिकताको अभाव र गुण्डागर्दीमा संलग्न व्यक्तिले देशको प्रतिनिधित्व गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिने भन्दै यी आरोपहरुको निष्पक्ष छानबिन गरी सुनारलाई राजदूत पदमा अनुमोदन नगर्न माग गरिएको छ ।
यो पनि हेर्नुस्:
सुशासनको मुखौटा कि १० करोडको खेल ? रास्वपा सांसद सुनारमाथि असुली धन्धाको गम्भीर आरोप


विश्व खबर 



















