काठमाडौं – खराब मौसमका कारण सिमराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा डाइभर्ट गरिएको छ।
बुद्ध एयरको U4 554 उडान बुधबार बिहान १०ः३० बजे सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट होल्ड गरिएको थियो ।
काठमाडौं विमानस्थल क्षेत्रमा वर्षा हुनुका साथै मौसम खराब र भिजिबिलिटी कम भएका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको हो ।
विमान करिब १२ः३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनाइएको छ ।
विमानका कर्मचारीका अनुसार मौसम र काठमाडौं विमानस्थलको अवस्था अनुकूल भएमा जनकपुरमा करिब ३० मिनेट रोकिएपछि विमान पुनः काठमाडौंका लागि उड्ने तयारी गरिएको छ ।
बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा भिजिबिलिटी कम भएका कारण आन्तरिक उडानसमेत प्रभावित भएका छन् । खराब मौसमका कारण केही उडान ढिलो हुनुका साथै आवश्यकताअनुसार डाइभर्ट गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ ।


विश्व खबर 



















