images
images
  • बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा पाँच सय कन्टेनर रोकिए

    काठमाडौं – बेनी–जोमसोम सडकखण्ड बाढी, पहिरो र हिमपातका कारण अवरुद्ध भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब पाँच सय कन्टेनर लामबद्ध भएर रोकिएका छन् ।

    असोज ८ देखि ११ गतेसम्म भएको भारी वर्षापछिको बाढी, पहिरो र सडक कटानका कारण सडक अवरुद्ध भएपछि एक सातादेखि जिल्लाका विभिन्न स्थानमा कन्टेनर रोकिएका हुन् । म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायतका स्थानमा सडक मर्मतको काम भइरहेको छ ।

    सडक आयोजनाका प्राविधिकहरूका अनुसार अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने अनुमान छ । बेनी–जोमसोम सडक सञ्चालनमा नआउँदा ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा रोकिएका छन् ।

    यता, बेनी–जोमसोम सडक अवरुद्ध रहे पनि कोरला नाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार क्षेत्रमा रोकिएका केही मालवाहक कन्टेनर जोमसोम ल्याइएको हो ।

    यसअघि बाढी तथा पहिरोका कारण कोरला नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो। त्यसका कारण सयौँ कन्टेनर नाकामै रोकिएका थिए ।

    भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानका कारण म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि एक सातासम्म मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थि । विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित भएको थियो ।

    कोरला नाकामा रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार चीनबाट कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तु बोकेका करिब तीन सय कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासका लागि रोकिएका छन् ।

    दसैँ–तिहार लक्षित गरी चीनबाट आयात गरिएका सामान समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा व्यापारीसँगै उपभोक्तासमेत प्रभावित भएका छन्। चाडपर्वका लागि आयात गरिएका सामान बजारमा समयमै पुग्न नसक्दा व्यापारिक गतिविधिमा समेत असर परेको व्यवसायीहरूको भनाइ छ।

    सडक तथा भन्सार सेवा नियमित रूपमा सञ्चालनमा आउन ढिलाइ हुँदा चीनबाट आयात हुने मालवस्तुको आपूर्ति प्रभावित भएको छ भने त्यसको प्रत्यक्ष असर नेपाली बजारको आर्थिक गतिविधिमा समेत परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images