images
images
  • पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनमा ल्याउँदै बंगलादेश, स्थानीय बासिन्दाको सुरक्षा चिन्ता कायमै

    काठमाडौं– बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ। तर संयन्त्र नजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता पनि कायमै छ।

    ढाकाबाट करिब १५० किलोमिटर पश्चिम पद्मा नदीको किनारमा रहेको १३ अर्ब अमेरिकी डलरको रूपपुर आणविक ऊर्जा संयन्त्र एक दशकभन्दा लामो समयको निर्माणपछि सञ्चालनको चरणमा पुगेको हो। २.४ गिगावाट क्षमताका दुई रिएक्टर पूर्ण रूपमा सञ्चालनमा आएपछि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति गर्ने अपेक्षा गरिएको छ।

    पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो एक वर्षभित्र सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन् ।

    रुसी राज्य आणविक निगम रोसाटमसँगको सहकार्यमा निर्माण भइरहेको परियोजनाले रूपपुरको ग्रामीण अर्थतन्त्र र जनजीवनसमेत बदलिदिएको छ। हजारौँ रुसी कामदारका कारण आवास, पसल र रेस्टुरेन्ट खुलेका छन् भने बङ्गाली, अङ्ग्रेजी र रूसी भाषामा लेखिएका सङ्केतपाटी देखिन्छन्। स्थानीयवासीले कामदारलाई तरकारी र फलफूल बेच्नेदेखि अन्य व्यवसाय सञ्चालन गर्न थालेका छन्।

    संयन्त्रका अधिकारीहरूले कडा सुरक्षा व्यवस्था अपनाइएको र विगतका आणविक दुर्घटनाबाट सिकिएका पाठलाई परियोजनामा समावेश गरिएको बताएका छन्। १५ वर्षीय मोहम्मद नाफिजले रूपपुर विश्वभर परिचित हुनुमा खुसी लागेको र भविष्यमा इन्जिनियरिङ अध्ययनपछि संयन्त्रमा काम गर्ने आशा रहेको बताए।

    तर ८० वर्षीय मोहम्मद युनुस अलीले घना बस्तीबीच आणविक सुविधा निर्माण गरिएकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार केही दिनअघि कम्प्रेसर परीक्षणका क्रममा आएको ठूलो आवाजले सुतिरहेका बालबालिकासमेत डराएका थिए।

    ‘म आफ्नो जीवनका लागि डराएको छैन, तर मेरा छोराछोरी र नातिनातिनीको सुरक्षा चाहन्छु’, उनले भने।

    रूपपुरमा आणविक संयन्त्र निर्माण गर्ने योजना सन् १९६० को दशकदेखि अघि बढेको थियो। विभिन्न देशसँगको वार्ता असफल भएपछि बङ्गलादेशले सन् २०१५ मा रुससँग सम्झौता गरेको थियो। परियोजनाको मूल लागतको करिब ९० प्रतिशत ऋण रुसी पक्षले उपलब्ध गराउने सहमति भएको थियो। निर्माण सन् २०१७ मा सुरु भएको थियो। कोभिड–१९ महामारी र युक्रेनमाथि रुसको आक्रमणपछि लगाइएका प्रतिबन्धका कारण उपकरण आपूर्ति र भुक्तानीमा समस्या हुँदा परियोजना ढिलाइ भएको थियो।

    परियोजनासँग जोडेर भ्रष्टाचारका आरोपसमेत लागेका छन्। अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यले भने ती आरोप अस्वीकार गरेका छन्।

    बङ्गलादेशीका लागि भने अहिलेको प्रमुख चासो संयन्त्रबाट भरपर्दो विद्युत् कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा छ। ५५ वर्षीया किसान बेली बेगमले नियमित विद्युत् कटौतीका कारण सिँचाइमा समस्या भइरहेको बताउँदै रूपपुर चाँडै सञ्चालनमा आएर आफूहरूले त्यसको पूर्ण लाभ पाउने आशा व्यक्त गरिन्।

    ‘हामीले २४ घण्टा नै कुनै अवरोधविना विद्युत् पाउने आशा गरेका छौं’, उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images