काठमाडौं– यमनी सेनाले इरान समर्थित हुथी विद्रोहीले हासिल गरेका पछिल्ला सैन्य उपलब्धि उल्ट्याउने प्रयास गरिरहेको छ ।
यसका लागि उसले थप शक्तिशाली हवाई समर्थन र नवीकृत अन्तर्राष्ट्रिय सहयोग पाइरहेको छ ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले लामो समयदेखि जारी युद्धमा अन्ततः हुथीविरुद्ध सैन्य पहल आफूले लिएको देखाउन खोजिरहेको छ ।
देशभर राज्यको अधिकार पुनःस्थापित गर्ने उद्देश्यसहित सोमबार ‘अपरेसन डन अफ यमन’ घोषणा गरिएको थियो ।
त्यसको केही समयमै दक्षिणी लालसागर तटीय क्षेत्रमा सरकारी सेनाले सैन्य कारबाही सुरु गरेको छ ।
यस कारबाहीको तत्कालीन उद्देश्य गत महिना हुथीहरूले हासिल गरेका सैन्य उपलब्धि उल्ट्याउनु हो ।
इरानसमर्थित हुथी समूहले विश्वका महत्त्वपूर्ण जलमार्गमध्ये एक बाब अल–मन्देब जलडमरूमध्यमाथि नियन्त्रण कायम गरेको थियो ।
तर, सरकारको दीर्घकालीन लक्ष्य भने एक दशकभन्दा बढी समयदेखि हुथीको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्नु हो ।
त्यसमा राजधानी साना पनि पर्छ ।
हुथीहरूले सन् २०१४ मा राजधानी सानामाथि बलपूर्वक नियन्त्रण कायम गरी आफ्नै सरकार स्थापना गरेका थिए ।
यो निकै ठूलो महत्वाकांक्षा हो ।
अहिलेसम्म सरकारी सेनाले हासिल गरेको प्रगति भने सीमित छ ।
मुख्य उपलब्धिका रूपमा बाब अल–मन्देब आसपासका क्षेत्रमा गरिएको सीमित अग्रसरतालाई लिन सकिन्छ ।
यद्यपि पछिल्ला आक्रमणले साउदी अरबको समर्थनमा रहेको यमनी सरकारको सैन्य अभियान पहिलेभन्दा बढी व्यवस्थित भएको संकेत गरेको छ ।
गत महिना लालसागरको तटीय क्षेत्र हुथीको नियन्त्रणमा पुगेपछि सरकारी पक्षले ठूलो क्षति बेहोरेको थियो ।
सेप्टेम्बरको सुरुवातमा सरकारी सेनाले हुथीविरुद्ध लडिरहेका विभिन्न समूहबीच पर्याप्त समन्वयको अभाव, सैन्य तयारी कमजोर हुनु तथा सरकारी सेनाको सञ्चार प्रणालीमा हुथीको घुसपैठजस्ता समस्या सामना गरेको थियो ।
यी समस्या समाधान भए वा भएनन् भन्ने निष्कर्षमा पुग्न अझै चाँडो छ ।
तर दक्षिणी लालसागर क्षेत्रमा कब्जा जमाएका स्थानलाई हेर्ने उच्च भू–भागमा हुथीहरूले पर्याप्त नियन्त्रण कायम गर्न नसक्दा उनीहरू प्रतिआक्रमणको जोखिममा परेका छन् ।
साउदी अरबको हवाई समर्थन
सरकारको पछिल्लो आक्रमणलाई यसपटक केही बढी सफल हुनसक्ने देखाउने अन्य कारण पनि छन् ।
तीमध्ये सबैभन्दा महत्त्वपूर्ण साउदी अरबको प्रत्यक्ष सैन्य सहभागिता हो ।
साउदी अरबले सरकारी सेनालाई शक्तिशाली हवाई समर्थन उपलब्ध गराइरहेको छ ।
सोमबार साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा १०० वटा लडाकु विमान सहभागी भएको जनाएको छ ।
सन् २०२२ मा युद्धविराम भएपछि चार वर्षयता हुथीविरुद्ध पुनः हवाई आक्रमण सुरु गरेको साउदी नेतृत्वको गठबन्धनले सार्वजनिक रूपमा स्वीकार गरेको यो पहिलोपटक हो, यद्यपि सेप्टेम्बरमा पनि हवाई आक्रमण भएको रिपोर्ट सार्वजनिक भएका थिए ।
हवाई आक्रमणले लालसागरको तटीय क्षेत्रबाहेक ताइज, मारिब र अल–जौफ क्षेत्रमा हुथीविरुद्ध अघि बढिरहेका सरकारी सेनालाई समेत सहयोग गरेको छ ।
साना सेन्टर फर स्ट्राटेजिक स्टडिजका अध्यक्ष मागेद अल–मधाजीका अनुसार हवाई आक्रमणको दर र सटीकता विगतको तुलनामा निकै बढेको छ ।
उनका अनुसार सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध सुरु गरेको हवाई अभियानको सुरुवाती चरणभन्दा पनि पछिल्लो आक्रमण बढी प्रभावकारी देखिएको छ ।
अमेरिकी गुप्तचर सूचनासँग समन्वय गरिएका हवाई आक्रमण थप प्रभावकारी हुनुका साथै स्थल सेनाको कारबाहीसँग पनि समन्वय गरिएको बताइएको छ ।
एक अमेरिकी अधिकारीका अनुसार अभियानलाई सहयोग गर्न २०० अमेरिकी सैन्य सल्लाहकार साउदी अरबमा तैनाथ छन् ।
सेवानिवृत्त लेबनानी जनरल इलियास हन्नाका अनुसार स्थल र हवाई सेनाबीच देखिएको समन्वय सैन्य सफलताका लागि आवश्यक एकीकृत कमान्ड संरचनाको संकेत हो ।
उनका अनुसार हवाई सेनाले आक्रमण गरे पनि स्थल सेनाले त्यसपछि कब्जा गरिएको भू–भागमा प्रवेश गरी त्यहाँ नियन्त्रण कायम गर्नुपर्ने हुन्छ ।
हन्नाका अनुसार अमेरिकी विशेषज्ञताले हुथीका सम्भावित लक्ष्यसम्बन्धी ठूलो ‘इन्टेलिजेन्स बैंक’ उपलब्ध गराएको छ, जसका आधारमा हुथीका स्थानमा पटक–पटक आक्रमण गर्न सकिन्छ ।
जायन्ट्स ब्रिगेडको भूमिका
यसपटकको सरकारी सैन्य अभियानलाई सेप्टेम्बरको सुरुवाती लडाइँभन्दा फरक बनाउने अर्को महत्वपूर्ण पक्ष जायन्ट्स ब्रिगेडको सक्रिय भूमिका हो ।
यो सैन्य समूहलाई यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)ले तालिम दिएको थियो र अहिले साउदी अरबको समर्थन प्राप्त छ ।
लालसागर क्षेत्रमा सरकारी पक्षले क्षति बेहोर्दा पनि यो समूह त्यहाँ उपस्थित थियो, तर त्यतिबेला यसको संख्या तुलनात्मक रूपमा कम थियो ।
यसपटक भने जायन्ट्स ब्रिगेडले लालसागर क्षेत्र तथा ताइजको अल–वाजियाह जिल्लामा प्रमुख भूमिका निर्वाह गरिरहेको छ ।
उक्त क्षेत्र बन्दरगाह सहर मोखामाथि निगरानी राख्ने रणनीतिक स्थान हो ।
जायन्ट्स ब्रिगेडले यसअघि सन् २०२२ मा शब्वाहमा हुथीलाई पराजित गरेको थियो ।
त्यसपछि उसले हुथीलाई दक्षिणपूर्वी तटीय प्रान्त शब्वाहका साथै साना पूर्वतर्फका मारिब र अल–बैदा क्षेत्रबाट समेत हटाएको थियो ।
अल–मधाजीका अनुसार हुथीसँग लड्ने रणनीति र अनुभवका हिसाबले जायन्ट्स ब्रिगेड सबैभन्दा अनुभवी शक्तिमध्ये एक हो ।
यसले समथर भू–भागदेखि पहाडी क्षेत्रसम्म विभिन्न मोर्चामा हुथीसँग युद्ध गरेको छ ।
उनका अनुसार साउदी पक्षको परिचालन व्यवस्थापन र यसअघि यूएईको व्यवस्थापनमा रहेका सैन्य शक्तिबीच भएको समन्वयबाट पहिलोपटक प्रभावकारी परिणाम देखिएको छ ।
यसले सैन्य परिचालन कक्ष एकीकृत भएको र विभिन्न पक्षबीचको समन्वय प्रभावकारी बनेको संकेत गरेको छ ।
अन्तर्राष्ट्रिय समर्थन
मारिब र अल–जौफमा भइरहेको लडाइँमा तुलनात्मक रूपमा कम ध्यान पुगेको छ ।
यी दुवै साना पूर्वतर्फका मुख्यतः मरुभूमि क्षेत्र भएका प्रान्त हुन् ।
सरकारी सेनाले त्यहाँ पनि केही क्षेत्रमा अग्रसरता हासिल गरेको दाबी गरेको छ ।
यी क्षेत्रमा हुने विकासक्रम सरकारको अन्तिम लक्ष्यका लागि महत्वपूर्ण हुन सक्छ ।
सरकारको घोषित लक्ष्य सन् २०१४ देखि हुथीको नियन्त्रणमा रहेको राजधानी साना पुनः कब्जा गर्नु हो ।
राजधानीतर्फ बहुआयामिक सैन्य अभियान सञ्चालन गर्न स्थल सेना, हवाई शक्ति र गुप्तचर संयन्त्रबीच थप समन्वय आवश्यक हुनेछ ।
तर राजधानी पुनः कब्जा गर्ने अवस्था अझै टाढा देखिन्छ ।
हुथीलाई पनि कमजोर आँक्न सकिँदैन ।
सोमबार लालसागरको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने धुबाबमा क्षति बेहोरेपछि हुथी सेनाले आफ्नो स्थिति सम्हाल्दै पुनः संगठित भएको छ ।
उनीहरू सरकारी नियन्त्रणमा रहेको महत्वपूर्ण सहर ताइजतर्फ समेत अघि बढिरहेका छन् ।
सरकारी पक्षको मनोबल अझै कमजोर छ ।
विशेषगरी ताइजमा थप क्षति बेहोरेमा युद्धको वर्तमान कथा फेरि हुथीको पक्षमा बदलिन सक्छ ।
हुथीसँग विगत चार वर्षमा अझ बलियो बनाइएको क्षेप्यास्त्र तथा ड्रोन क्षमता पनि छ ।
उसले सरकारी सेनाका साथै साउदी अरबमाथि समेत आक्रमण बढाइसकेको छ ।
हुथीले हालै कब्जा गरेका क्षेत्रबाट उसलाई हटाउनु चुनौतीपूर्ण भए पनि वर्षौंदेखि उसको नियन्त्रणमा रहेका क्षेत्र, प्रमुख बन्दरगाह सहर हुदैदाहबाट हटाउनु अझ कठिन हुने देखिन्छ ।
तर, यसपटकको अवस्था विगतका युद्ध तीव्र भएका चरणभन्दा फरक छ ।
सरकार र साउदी अरबले पहिलेभन्दा बलियो अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेका छन् ।
हुथीले आफूविरुद्ध आक्रमण भए लालसागरमा रहेका व्यावसायिक जहाजलाई निशाना बनाएर आफ्नो क्षमताको प्रदर्शन गर्न सक्छ ।
तर, त्यसले क्षेत्रमा हुथीको नियन्त्रण कायम रहनुका जोखिम पनि उजागर गर्नेछ ।
अरब प्रायद्वीपको अर्को छेउमा रहेको होर्मुज जलडमरूमध्यमा इरानले अपनाइरहेको समान रणनीतिले पनि यसलाई थप संवेदनशील बनाएको छ ।
बेलायतले साउदी अरबलाई रक्षात्मक सहयोग उपलब्ध गराउने बताइसकेको छ ।
सोमबार साउदी अरबको टर्की र पाकिस्तानसँगको पारस्परिक रक्षा सम्झौता पनि सक्रिय गरिएको थियो ।
टर्कीले आफ्ना सैनिक पठाउने विषयमा पुष्टि गरेको छैन ।
तर पाकिस्तानले ‘टोही’ लगायतका सहयोगी भूमिकामा आफू संलग्न रहेको जनाएको छ ।
यो अन्तर्राष्ट्रिय समर्थन हुथीविरुद्धको अभियानको सफलता हासिल गर्न कूटनीतिक र सैन्य दुवै दृष्टिले महत्वपूर्ण हुन सक्छ ।
यद्यपि यो सैन्य अभियान धेरै महिनासम्म लम्बिन सक्ने सम्भावना देखिन्छ ।


विश्व खबर 



















