काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरूले अफ्रिकी देशको आर्थिक अवस्था कमजोर मूल्याङ्कन गर्ने गरेको गुनासोबीच अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा ल्याएको छ।
अफ्रिकी सङ्घको समर्थनमा स्थापना भएको अफ्रिका क्रेडिट रेटिङ एजेन्सी (एएफसीआरए) ले अफ्रिकी देश, व्यवसाय तथा संस्थाको ऋण तिर्ने क्षमता र वित्तीय अवस्थाको मूल्याङ्कन गर्नेछ।
मरिससमा मुख्यालय रहेको एएफसीआरएले फिच, मूडिज र एस एन्ड पी जस्ता प्रमुख अन्तर्राष्ट्रिय संस्थाको विकल्प दिने लक्ष्य राखेको छ। अफ्रिकन पियर रिभ्यु मेकानिजमका अनुसार महादेशका २३ देशलाई परम्परागत रेटिङ संस्थाले मूल्याङ्कन गरेका छैनन्। विश्लेषकहरूले अफ्रिकाको ठूलो अनौपचारिक अर्थतन्त्रलाई ती संस्थाले पर्याप्त रूपमा समेट्न नसकेको बताएका छन्।
क्रेडिट रेटिङ कमजोर हुँदा ऋणको ब्याजदर बढ्छ। सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारबाट लिएको प्रत्येक १०० अमेरिकी डलर ऋणका लागि अफ्रिकाले औसत नौ डलर ब्याज खर्च गरेको थियो। यो एसियाका उदीयमान बजारको ४.७० र ल्याटिन अमेरिकाको ६.५० डलरभन्दा बढी हो।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अफ्रिकाले आफूअनुकूल नभई वास्तविक आर्थिक अवस्था र सुधारका आधारमा निष्पक्ष मूल्याङ्कन चाहेको बताएका छन् । तर एएफसीआरएले लगानीकर्ताको विश्वास जित्न स्वतन्त्र र निष्पक्ष मूल्याङ्कन गर्नुपर्ने चुनौती रहेको विश्लेषकहरूको भनाइ छ।
एएफसीआरएले कुनै अफ्रिकी सरकारको रेटिङ घटाउन सक्ने वा नसक्ने विषयलाई पहिलो परीक्षणका रूपमा हेरिएको छ। केन्याका व्यवस्थापन सल्लाहकार ज्याकब ओरेकीले एजेन्सीको विश्वसनीयता ‘अफ्रिकी’ भएकामा नभई यसको स्वतन्त्रता र मूल्याङ्कनको शुद्धतामा निर्भर हुने बताएका छन्।


विश्व खबर 



















