images
images
  • बालेन्द्र साह ‘संस्कार नभएका’ प्रधानमन्त्री हुन् ?

    काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसले हिजो आइतबार काठमाडौंको खुला मञ्चमा आफ्नो १५औँ महाधिवेशन शानदार र भव्यरूपमा उद्घाटन गरेको छ ।

    करिब एक दशकपछि खुला मञ्चमा आयोजना गरिएको उक्त राजनीतिक सभा आफैंमा ऐतिहासिक थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत थुप्रै राजनीतिक दलका शीर्ष नेताहरू स्वयम् सहभागी भएर महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

    तर, रास्वपाको बहुमतबाट प्रधानमन्त्री बनेका बालेन्द्र साह ‘बालेन’ ले भने सो महाधिवेशनप्रति असहिष्णु अभिव्यक्ति दर्ज गराए । आफ्नो पार्टीका सभापति रवि लामिछाने स्वयम्ले शुभकामना दिएको सो सभालाई उनले ‘गाली मञ्च’ को रूपमा अर्थ्याए ।

    देशकै अभिभावक भएको नाताले बोल्नै नपर्ने विषयमा बोल्दै उनले आइतबार राति १० बजेतिर व्यक्तिगत फेसबुक पेजमा लेखे, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा खुलामञ्चको अस्थायी टहरा हटाएर राम्रो बनाएको र आज कांग्रेसले त्यही ठाउँमा १५औँ महाधिवेशन गरी सरकारलाई नै गाली गरेको भन्ने उक्त लेखाइको आशय थियो ।

    कांग्रेस सभापति गगन कुमार थापाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खुलामञ्च खुला भए पनि प्रधानमन्त्री साह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने टिप्पणी गरेका थिए । सायद सोही अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीले कांग्रेसतर्फ व्यङ्ग्य गर्दै उक्त अभिव्यक्ति दिएका होलान् ।

    तर, प्रधानमन्त्री बालेनको सो अभिव्यक्ति अत्यन्तै कच्चा र बच्चापन भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । उनको अभव्यक्ति आएको केही समयमै प्रतिक्रिया जनाउँदै जेन–जी अभियन्ताका रूपमा परिचित रक्षा बमले ‘संस्कार नभएको प्रधानमन्त्री’ का रूपमा टिप्पणी गरेकी छिन् ।

    उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘धन्न जेन–जीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन् । बमले प्रधानमन्त्री बालेनलाई मात्र नभइ प्राय: सबै सांसद र मन्त्रीमाथि समेत उक्त आक्षेप लगाएकी छिन् ।

    यस्तै, कांग्रेसका युवा नेता सचिन तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीलगायत केही पत्रकार, सामाजिक अभियन्ता र आम नागरिकले समेत ‘धन्न’ शब्दलाई ट्रेण्ड गर्दै चर्को आलोचना गरिरहेका छन् ।

    कसले के भने ?

    सचिन तिमल्सेना : ‘धन्न’ कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ । प्रधानमन्त्री नै भए पनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन् ।

    ज्ञानेन्द्र शाही : ‘धन्न’ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौ । संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ ‘म नेपाली हुँ’ भन्न पाएका छौँ ।

    सन्तोष राजावादी : ‘धन्न’ राजा महेन्द्रले खुल्लामञ्च बनाएर राखिदिएका थिए र सिंहदरबार जलाइदिन्छु, भारतको भू–भाग नेपालले मिचेको छ, नयाँ पुराना नेताहरु सबै चोर हुन भन्ने आफू मात्र सज्जन सोच्ने, भए भरको पार्टीलाई र विभिन्न देशलाई अंग्रेजीमा मुख छोड्ने अनि त्यही पार्टीमा गएर चुनाब लड्ने त्यही पार्टीबाट प्रधानमन्त्री बन्ने ठिटाले ठूलो कुरा गर्न पाएका छन् । मेयर हुँदा ग्रेटर नेपालको फोटो राख्यौ अनि प्रधानमन्त्री हुँदा भारतको भू–भाग नेपालले मिचेको छ भन्न पुग्यौ साँच्चै तिमीले भनेको भारतको मिचेको भू–भाग फिर्ता दियौ कि दिन बाँकी छ ?

    अर्जुन पौडेल : प्रचण्डहरूले, बाबुरामहरूले, केपी ओलीहरूले देउबाहरूले, गगनहरूले, प्रदिपहरूले, थुप्रै विद्यार्थी नेता जनयुद्ध र जनआन्दोलनका नेताहरूले हामीले ल्याएको व्यवस्थामा प्रधानमन्त्री भएका छौ भनेर भन्दिए भने के हुन्छ नि ? हामीले ल्याइदिएको लोकतन्त्र भएर टिप्पणी गर्न पाएका छौं भनेर पुरानाले भन्दिए भने के हुन्छ नि ?

    हामीले बनाइदिएको बाटोमा गुड्यौ भनेर भन्दिँदा के हुन्छ नि ? राजाहरूले हामीले बनाइदिएको एयरपोर्टबाट अमेरिका गएर आयौ भन्दिँदा के हुन्छ नि ? आफूले बनाएको चिजको यसरी नै माया लाग्छ । सिंहदरबार, सर्वोच्च अदालत थुप्रै सरकारी कार्यालयहरू, पार्टी कार्यालयहरू वडा कार्यालयहरू, मिन गुरुङले बनाएका भाटभटेनीहरू जल्दा कस्तो भएको थियो होला, यहाँ त बालेनले बनाएको खुला मञ्च मात्रै प्रयोग गरेको हो ।

    ज्ञानेन्द्र खड्का : ‘धन्न’ बीपीहरूले कांग्रेस बनाए ।
    धन्न कांग्रेसले राणाविरूद्ध लड्यो ।
    धन्न कांग्रेस–कम्युनिस्टले प्रजातन्त्र ल्याए ।
    धन्न कांग्रेस–वाममोर्चाले पञ्चायत ढालेर बहुदल ल्याए ।
    धन्न माओवादीले हतियार उठाएर राजतन्त्र ढल्यो ।
    धन्न माओवादी र सात दलले गणतन्त्र–संघीयता ल्याए ।
    धन्न पुराना दलले २०७२ मा लोकतान्त्रिक संविधान जारी गरे ।
    धन्न वालेन्द्रले फोहोरबाट बिजुली निकाले, दुषित हावा सफा गरे ।
    धन्य छौँ, उनैले इतिहासमै दुर्लभ कीर्तिस्वरूप खुलामञ्चमा दुबो रोपे ।
    सुकुम्बासी, कबाड संकलक, पोके व्यापारी र भुइँमान्छे त झनै धन्य छन् ।
    खुलामञ्चमा मौलाएको दुबो कुल्चिने कांग्रेसीहरूको यत्रो दुस्साहस !
    धन्न वालेन्द्रले रोपिदिए, पुराना भए टुँडिखेल पनि पुरिदिन्थे ।
    र, हामी धन्य छौँ, प्रधानमन्त्रीको अवस्था फेसबुकबाट थाहा पाउँछौं ।

    वीरेन्द्र जैरु : ‘धन्न’ मार्क जुकरबर्गले फेसबुक बनाइदिए र पो रातको समयमा पनि प्रधानमन्त्रीको यस्तो ‘गहन’ स्टाटस हेर्न पाइएको छ !

    खुलामञ्चको कहानी के हो ?

    साविकको पुरानो बसपार्कमा ‘काठमाडौं भू टावर’ निर्माण गर्ने गरी काठमाडौं महानगर र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकाइ विल्डर्सबीच सम्झौता भएपछि त्यहाँ सञ्चालित बसपार्क खुला मञ्चमा सारिएको थियो । सो निर्माण कम्पनीले खुला मञ्चको करिब एकतिहाइ भाग जिम्मा लिएर आधा भागमा बसपार्क सञ्चालन गरी आधा भागमा व्यावसायिक टहराहरू निर्माण गरी भाडामा लगाएको थियो ।

    काठमाडौं महानगरपालिकासँग २०७४ वैशाख ८ मा भएको सम्झौता भएको बताउँदै निर्माण कम्पनीले खुलामञ्चमा नयाँ ४३ र पुराना नौ गरी ५२ सटर सञ्चालनमा ल्याएको थियो ।

    उक्त सहमतिका बखत काठमाडौं महानगरमा नेकपा एमालेबाट निर्वाचित विद्यासुन्दर शाक्य प्रमुख थिए । उनले खुलामञ्चमा सम्झौताले नचिन्नेगरी गलत तरिकाले सटर बनाएको पाइएको भन्दै त्यतिबेलै डोजर चलाएर खाली गराएका थिए ।

    सोही समयमा वीर अस्पतालको सामान थन्क्याउन निर्माण गरिएको अस्थायी टहरा भने हटाइएको थिएन । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा अस्पतालको एउटा भवन पुनर्निर्माण गर्न लागिएका कारण उक्त भवनमा रहेका सामग्री खुलामञ्चमा सारिएको थियो ।

    तिनै संरचनाहरूलाई हटाएर बालेन साह महानगर प्रमुख भएको बेला सफल पारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images