काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको कार्यशैली, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको सम्बन्ध तथा अदालत सञ्चालनका विषयमा न्यायाधीशहरूले कडा प्रश्न उठाएको खुलासा भएको छ ।
बैठकमा राणासँगको भेटघाट र मध्यराति भएको फोनवार्ताबारे शर्माको भनाइ बाझिएको भन्दै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहितका न्यायाधीशले प्रश्न गरेको बताइएको छ ।
सुरुमा राणासँग भेटघाट नभएको बताएका शर्माले पछि मध्यराति फोन सम्पर्क भएको र भेटघाट तथा कुराकानी हुने गरेको स्वीकार गरेको दाबी गरिएको छ ।
फुलकोर्टमा विशेष अदालतको कार्यशैली, बिचौलियाको सक्रियता, ‘बेन्च सपिङ’, बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता तथा संवैधानिक इजलास गठनलगायत विषयमा समेत प्रश्न उठेको बताइएको छ ।
चार दिनका लागि उच्च अदालतको न्यायाधीश नियुक्त भएका हिमलाल बेलबासेको नियुक्तिबारे पनि न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
वरिष्ठता मिचेर छोटो अवधिका लागि नियुक्ति गर्नुको कारणबारे बैठकमा स्पष्टीकरण मागिएको बताइएको छ ।
बैठकमा न्यायाधीशहरूलाई विश्वासमा नलिई सीमित कर्मचारीमार्फत न्यायपालिका सञ्चालन गर्न खोजेको आरोपसमेत उठेको बताइएको छ ।
चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश शर्माले आफू सच्चिने र न्यायाधीशहरूले भनेअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक न्यायाधीशले बताए ।
तर, त्यसपछि असोज १४ गते गठन गरिएको संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाललाई नराखिएको विषयले पुनः प्रश्न उठाएको छ ।
यसैबीच, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यराति निवासबाट नियन्त्रणमा लिएको घटनापछि सर्वोच्च अदालतले राज्यका निकायबाट पूर्व तथा बहालवाला न्यायाधीशमाथि गरिने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने जनाएको थियो ।
राणाविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले भदौ २४ गते महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै सम्बन्धित रिटहरू खारेज गरेको थियो ।


विश्व खबर 




















