काठमाडौं– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइ दुबईको विमानमा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि ठूलो दुर्घटना टरेको दाबी गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइते पाइलटले आक्रमणको प्रतिकार गर्दै विमानको नियन्त्रण कायम राख्न सफल भएपछि करिब १८० यात्रुको ज्यान जोगिएको हो ।
फ्लाइदुबईको उडान एफजेड १०७३ दुबईबाट तेल अभिभका लागि उडेको थियो । उडानकै क्रममा ककपिटमा रहेका दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो । यस क्रममा भारतीय क्याप्टेन स्मित मच्छरमाथि उनका ओमानी सहपाइलटले चक्कुले आक्रमण गरेको पछिल्ला विवरणमा दाबी गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मच्छरले आक्रमणको प्रतिकार गर्दै विमानको नियन्त्रण कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनीमाथि आक्रमण भए पनि उनले विमानलाई सुरक्षित रूपमा साउदी अरबको तबुकतर्फ मोड्न सफल भएको ‘द इकोनमिस टाइम्स’ को रिपोर्टमा उल्लेख छ ।
मच्छर सन् २०२२ मा फ्लाइदुबईमा आबद्ध भएको र त्यसअघि करिब एक दशक भारतीय निजी वायुसेवा कम्पनी स्पाइसजेटमा पाइलटका रूपमा काम गरेको विवरण इनसट्र्ससहित भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
घटनापछि विमानले आपत्कालीन संकेतसमेत प्रसारण गरेको थियो । विमानले पहिले ‘७७००’ र त्यसपछि ‘७५००’ कोड पठाएको थियो । ‘७७००’ सामान्य आपत्कालीन अवस्थाको संकेत हो भने ‘७५००’ विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरणको संकेतका रूपमा प्रयोग हुन्छ । ‘७५००’ सङ्केतपछि इजरायलले आफ्ना लडाकु विमानसमेत परिचालन गरेको थियो ।
यसैबीच, विमानको उचाइ पनि असामान्य रूपमा तीव्र गतिमा घटेको फ्लाइट ट्र्याकिङ विवरणले देखाएको छ । विमान करिब ३४ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको र त्यसपछि साउदी अरबको तबुकस्थित विमानस्थलमा अवतरण गरिएको विवरण सार्वजनिक भएको छ ।
विमानमा भएको घटनाबारे यात्रुहरूले ककपिटबाट चिच्याएको आवाज सुनेको र त्यहाँ रगत देखिएको बताएका छन् । केही रिपोर्टमा यात्रुहरूले ककपिटमा पुगेर स्थिति नियन्त्रणमा लिन सहयोग गरेको उल्लेख छ । यद्यपि घटनाको सम्पूर्ण विवरण र चक्कु प्रहारसम्बन्धीको घटनाका विषयमा भने अनुसन्धानपछि मात्रै पुष्टि हुने छन् ।
विमान तबुकमा सुरक्षित अवतरण गरेपछि यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ । दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनाबारे साउदी र इजरायली सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् ।
अहिले अनुसन्धानको मुख्य विषय ककपिटमा झडप किन सुरु भयो, सहपाइलटले क्याप्टेनमाथि किन आक्रमण गरे र त्यस क्रममा विमानको नियन्त्रणमा कति असर परेको थियो भन्ने रहेको छ । अहिलेसम्म उपलब्ध विवरणका आधारमा भने भारतीय क्याप्टेन स्मित मच्छरले घाइते अवस्थामै विमानलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेको रिपोर्ट सार्वजनिक भएको छ ।
विमान उडिरहेकै बेला पाइलटबीच कुटाकुट, हाइज्याकको आशंकापछि साउदीमा अवतरण


विश्व खबर 

















