काठमाडौं– नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ ।
महाशाखाले मंगलबार अपराहन्न सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ भन्दै विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
महाशाखाले भनेको छ, ‘हाल सर्वसाधारणबाट असोज १७ गतेदेखि ३ दिनका लागि भीषण वर्षा हुन्छ भनेर धेरै सोधपुछ भएकोबारे यस बिभागको ध्यानआकर्षण भएको । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न/नफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ ।’
साथै, महाशाखाले सम्पूर्ण जनतालाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत अद्यावधिक (अपडेट) रहन अनुरोध समेत गरेको छ ।


विश्व खबर 
















