काठमाडौं-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतहरूले बताएका छन्। यद्यपि प्रहरीले उनको नियन्त्रणको औपचारिक कारण सार्वजनिक गरिसकेको छैन।
जबरालाई नियन्त्रणमा लिनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनको पछिल्लो गतिविधिबारे विभिन्न गुनासा तथा सूचनाहरू पुगेको स्रोतहरूको दाबी छ। विशेषगरी शासकीय मामिला तथा न्यायिक कामकारबाहीमा अनावश्यक चासो र प्रभाव पार्न खोजेको आरोपसम्बन्धी सूचनामाथि सुरक्षा निकायहरूले चासो राखेको बताइएको छ।
गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार पछिल्लो समय बाँसबारीस्थित जबराको निवासमा विभिन्न व्यक्तिको आवतजावत बढेको सूचनापछि सुरक्षा निकायले उनको गतिविधिमाथि निगरानी बढाएको थियो।
स्रोतहरूका अनुसार जबराले पछिल्लो समय आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाउने प्रयास गरेको तथा निकट भविष्यमा कुनै सार्वजनिक वा राजनीतिक भूमिकाका लागि तयारी गरिरहेको देखिएको दाबी गरिएको छ।
त्यस्तै, सर्वोच्च अदालतमा विचाराधीन केही संवेदनशील मुद्दाप्रति जबराले अस्वाभाविक चासो देखाएको आरोपसमेत स्रोतहरूले गरेका छन्।
विशेषगरी नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण, वीरगञ्जका मेयर राजेशमान सिंहसम्बन्धी मुद्दालगायतका विषयमा सुनुवाइअघि विभिन्न सरोकारवालासँग उनको भेटघाट भएको दाबी स्रोतहरूको छ।
प्रधानन्यायाधीश शर्मासँग निकट भएर न्यायलयमा प्रभाव जमाउन खाेजेकाे आराेप
पुर्वप्रधानन्यायाधीश जबराको पछिल्लो सक्रियता र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वमा सर्वोच्च अदालत सञ्चालनमा आएपछि थप चर्चामा आएको स्रोतहरूको दाबी छ।पुर्वप्रधानन्यायाधीश जबराका पालामा न्यालयमा भित्र्याएका थिए भने आफ्नाे निकट भएका कारण सरुवादेखी वढुवा समेत उनले सहयाेग गरेका थिए।
उनी निकटका डा. शर्मा २०८३ जेठमा नेपालको ३३औँ प्रधानन्यायाधीश नियुक्त भएका हुन्।
यसअघि पनि जबरा र न्यायपालिकासम्बन्धी विवाद लामो समयदेखि सार्वजनिक चासोको विषय रहँदै आएको थियो। जबराविरुद्ध २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त महाभियोगसँग सम्बन्धित रिटहरू खारेज गरेको छ।
सेप्टेम्बर ९ मा सर्वोच्च अदालतले जबराविरुद्ध परेको रिट खारेज गर्दै उनको पेन्सन तथा अन्य सुविधासम्बन्धी बाटोसमेत खुलेको सार्वजनिक विवरण आएको थियो। उक्त इजलासको नेतृत्व प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले गरेका थिए।
‘अदालतमा प्रभाव पार्न खोजेको’ आरोप
सर्वोच्च अदालतसम्बद्ध उच्च स्रोतका अनुसार पछिल्लो समय न्यायपालिकाभित्रका केही व्यक्तिहरूले अदालतको कामकारबाही तथा वातावरणबारे प्रधानन्यायाधीशसहित उच्च तहमा गुनासो गरेका थिए।
विशेष अदालतका केही न्यायाधीशले समेत सर्वोच्च नेतृत्वसँग भेट गरी विशेष अदालतमा काम गर्ने वातावरणबारे गुनासो गरेको स्रोतको दाबी छ। उक्त भेट र त्यसपछि प्रधानमन्त्रीको सचिवालयसम्म सूचना पुगेको स्रोतको भनाइ छ।
यद्यपि जबराको नियन्त्रणसँग उक्त घटनाको प्रत्यक्ष सम्बन्ध रहेको कुरा सुरक्षा निकाय वा सरकारले औपचारिक रूपमा पुष्टि गरेको छैन।
स्रोतहरूले प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभा कार्यक्रमबाट फर्किएपछि जबरालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको दाबी गरेका छन्।
यसअघि जबरा प्रधानन्यायाधीश हुँदा न्यायपालिकाको नेतृत्व र न्यायिक आचरणलाई लिएर गम्भीर विवाद उत्पन्न भएको थियो। अहिलेको घटनाले भने पूर्वप्रधानन्यायाधीशको पछिल्लो गतिविधि, न्यायिक स्वतन्त्रता र कार्यपालिका–न्यायपालिकाबीचको सम्बन्धबारे नयाँ बहस सिर्जना गरेको छ।


विश्व खबर 















