काठमाडौं– इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै अमेरिकी आक्रमणमा मारिएका विद्यार्थीहरूको तस्बिर देखाएका छन् ।
उनले आफूहरू आतंकवादबाट पीडित भएको बताए ।
फेब्रुअरीमा अमेरिकी आक्रमणको पहिलो दिन अमेरिकी सेनाले छात्राहरूको विद्यालयमा क्षेप्यास्त्र प्रहार गर्दा १६८ जनाको मृत्यु भएको थियो ।
‘अमेरिकी राष्ट्रपतिले हामीलाई आतंकवादी भने । हामी आतंकवादबाट पीडित हौँ,’ पेजेस्कियानले भने, ‘म त्यस्तो इरानबाट आएको हुँ, जहाँ हाम्रा सम्मानित सर्वोच्च नेतालाई कुनै कानुनी प्रक्रिया वा कारणबिनै हत्या गरियो । म त्यस्तो इरानबाट आएको हुँ, जहाँ एउटा विद्यालयमा बमबारी गरियो ।’
पेजेस्कियानले सम्बोधन सुरु गर्नेबित्तिकै अमेरिकी प्रतिनिधिहरू महासभाबाट बाहिरिएका थिए ।
इरानले अमेरिकी आक्रमणबाट आफ्नो रक्षा मात्र गरेको उनले बताए ।
आफ्नो सेनाले कसैमाथि आक्रमण गर्न होइन, आत्मरक्षाका लागि शक्ति हासिल गरेको उनको भनाइ थियो ।
इरानले आणविक हतियार बनाउन नखोजेको तर शान्तिपूर्ण आणविक कार्यक्रमबाट पछि नहट्ने पनि उनले स्पष्ट पारे ।
पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै इरानले कहिल्यै घुँडा नटेक्ने प्रस्ट पारे ।
ट्रम्पले मंगलबार सम्झौता नगरे इरानको सर्वनाश गर्ने धम्की दिएका थिए ।
‘प्रतिबन्ध, थप दबाब र थप धम्कीबीच इरानी जनताको प्रतिरोध झन् बढ्दै जानेछ भन्ने उनले बुझ्नुपर्छ,’ पेजेस्कियानले भने, ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ, घुँडा टेक्ने छैनौँ ।’


विश्व खबर 


















