काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत रूपमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा संसद् बैठकमा सांसदहरूको नियमित र पूर्ण उपस्थिति अपेक्षित रहेको उल्लेख गर्दै व्यावहारिक परिस्थितिलाई ध्यानमा राखेर शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका बनाइएको जनाइएको छ ।
सूचनाअनुसार तोकिएको दिन सम्बन्धित समूहका सांसदहरू बैठक सुरु भएदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुनुपर्नेछ ।
यस्तो छ समूहगत उपस्थिति तालिका
असोज ८ गते – समूह ३, समूह ४ र समूह १
असोज १२ गते – समूह १ र समूह २
असोज १३ गते – समूह २ र समूह ३
असोज १४ गते – समूह ३ र समूह ४
असोज १५ गते – समूह ४ र समूह १
असोज १६ गते – समूह १ र समूह २
रास्वपाले अन्य समूहका सांसदलाई संसद् आउन आवश्यक छैन भन्ने अर्थ नलिन पनि स्पष्ट पारेको छ । सूचनामा विशेष अवस्थाबाहेक संसद् बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक कामका लागि सांसदहरूले पालैपालो समय मिलाउनुपर्ने व्यवस्था गरिएको छ ।
कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सम्बन्धित सांसद अनिवार्य रूपमा सदनमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
रास्वपाले यसअघि पनि सांसदहरूको हाजिरी विवरण अध्ययन तथा विश्लेषण गर्ने प्रक्रिया अघि बढाएको थियो । संसद् सचिवालयबाट विगतका बैठकहरूको हाजिरी विवरण झिकाएर सांसदहरू बैठकमा कति उपस्थित भए र बैठक सुरु भएपछि बीचमै बाहिरिने अवस्था कस्तो थियो भन्ने अध्ययन गर्न जिम्मेवारीसमेत तोकिएको थियो ।
संसद्को आधिकारिक तथ्यांकअनुसार प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन् र सांसदहरूको व्यक्तिगत उपस्थिति विवरणसमेत सार्वजनिक रूपमा उपलब्ध छ ।


विश्व खबर 



















