काठमाडौं– नेपालका प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले आज बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने भएका छन् ।
अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री साहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री साहको सम्बोधन आज स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरू हुने सत्रमा तय गरिएको छ । नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ ।
महासभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री साह कतार हुँदै असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । उनी मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन् ।
प्रधानमन्त्री साहलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत शरदराम आर्याल र न्यूयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलगायत अधिकारीले स्वागत गरेका थिए ।
हाल अमेरिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न कूटनीतिक भेटघाटमा व्यस्त छन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत छन् ।


विश्व खबर 



















