काठमाडौं– बेलायत सरकारले आपत्कालीन अवस्थाका लागि आवश्यक सामग्री भण्डारण गर्न नागरिकलाई आग्रह गरेको छ ।
नयाँ सार्वजनिक सूचना अभियानमार्फत तीव्र मौसमी प्रतिकूलता, साइबर आक्रमण र विदेशी राज्यका शत्रुतापूर्ण गतिविधिबाट हुन सक्ने जोखिमका लागि पूर्वतयारी गर्न प्रोत्साहित गरिएको छ ।
बिजुली वा खानेपानी ठप्प हुने, पसल बन्द हुनेजस्ता संकटका बेला सुरक्षित रहन अपनाउन सकिने उपायबारे जानकारी दिनु यसको उद्देश्य हो ।
राष्ट्रिय विपद्का बेला मानिसलाई संकट सामना गर्न सक्षम बनाउनु र अति संवेदनशील वर्गलाई आवश्यक स्रोत उपलब्ध गराउनु सरकारको लक्ष्य रहेको बताइएको छ ।
के भण्डारण गर्न सकिन्छ ?
डिब्बाबन्द खाना र बोतलको पानीजस्ता आवश्यक सामग्री भण्डारण गर्न आग्रह गरिएको छ ।
मौसमविद्ले एक हजार वर्षयताकै ठूलो ‘एल निनो’को सम्भावना औँल्याएपछि वातावरणमन्त्री एन्जेला इगलले घरमा आवश्यक उपभोग्य सामग्री भण्डारण गर्न जोड दिएकी छन् ।
आपत्कालीन सेवा पुग्नुअघि केही समय धान्न सक्ने गरी घरमा खाद्यान्न भए निकै सुरक्षित हुने उनको भनाइ छ ।
एक स्रोतले घरेलु उत्थानशीलता बढाउन केही बोतल पानी र प्याक गरिएको खाना राख्नेजस्ता व्यावहारिक उपायबारे सल्लाह दिइने बताएको छ ।
तर, यो त्रास फैलाउने खालको नभएको बताइएको छ ।
खतरा केमा ?
प्रधानमन्त्री एन्डी बर्नहाम नेतृत्वको सरकारले रूसबाट उत्पन्न खतराबीच राष्ट्रिय उत्थानशीलतामा ध्यान केन्द्रित गरिरहेको छ ।
गर्मीयाममा अत्यधिक गर्मीका कारण सुक्खा हुनु र डढेलो फैलिन थालेपछि सरकारको चिन्ता बढेको छ ।
सरकारले बाह्य खतराबाट देशको रक्षा गर्ने निर्देशिका ‘वार बुक’ अद्यावधिक गर्ने काम तीव्र बनाएको छ ।
साथै, तीव्र मौसमी घटनासँग जुध्न नागरिकलाई सहयोग गर्ने सल्लाहसहित सामाजिक सञ्जाल अभियान पनि सञ्चालन गरिरहेको छ ।
सरकारले गत महिना राष्ट्रिय जोखिम रजिस्टर अद्यावधिक गर्दै बेलायतको प्रजातान्त्रिक प्रक्रियामा बाह्य हस्तक्षेपको जोखिम पनि थपेको छ ।
यो परिवर्तन रुसले युक्रेनबाट रुसविरुद्ध दूरगामी प्रहार गर्न प्रयोग गरिए बेलायतका सुविधालाई ‘वैध निशाना’ मानिने चेतावनी दिएको केही समयपछि आएको हो ।
रूस–युक्रेन युद्धमा बेलायतले युक्रेनलाई सहयोग गरेको भन्दै रूसले असन्तुष्टि जनाउँदै मस्कोस्थित बेलायती नियोगकी उपप्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको थियो ।
एक वर्ष (सन् २०२६ अगस्ट)मा बेलायती रक्षा मन्त्रालय क्षेत्र आसपास ड्रोनसँग सम्बन्धित ३४० सुरक्षा घटना दर्ता भएका छन् ।
सन् २०२५ मा २५० र त्यसअघिको वर्षमा १२६ घटना दर्ता भएका थिए ।
अत्यधिक गर्मी चिन्ताको विषय
विश्लेषकहरूले अत्यधिक गर्मी र सुक्खाका कारण बेलायत दशकौँयताकै गम्भीर खाद्य सुरक्षा संकटको जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
लगानी बैंक ‘सोर क्यापिटल’का विश्लेषकहरूका अनुसार, लगातार पाँचपटक आएको अत्यधिक गर्मी र लामो सुक्खाले किसानका बालीनाली नष्ट गर्न सक्छ ।
यसले यसै वर्षको उत्तरार्धमा खाद्यान्न अभाव सिर्जना गर्नुका साथै विदेशी आयातमा निर्भरता बढाउन सक्ने उनीहरूको आकलन छ ।
‘नेसनल फार्मर्स युनियन’ले अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको बताउँदै घाँस उम्रिन छाडेपछि दुग्ध किसानहरूले अहिल्यैदेखि हिउँदे दाना प्रयोग गर्न थालेको चेतावनी दिएको छ ।


विश्व खबर 



















