काठमाडौं – नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी तथा फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।
टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार गत भदौ महिनामा विभिन्न स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको हो । नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रका नागरिकले मोबाइल तथा डेटा सेवा थप सहज रूपमा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ । चितवनको मोहनपुरमा पनि नयाँ साइट सञ्चालनमा आएको छ ।
त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा नयाँ मोबाइल साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
लुम्बिनी प्रदेशमा कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट थपिएका छन् । यी साइट सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रको मोबाइल तथा डेटा सेवाको पहुँच र गुणस्तरमा सुधार आउने टेलिकमको अपेक्षा छ ।
कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा नयाँ साइट सञ्चालनमा आएका छन् ।
टेलिकमले दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका क्षेत्रमा क्रमशः नयाँ मोबाइल साइट थप गर्दै जाने योजना बनाएको छ ।
नयाँ साइटमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत गुणस्तरीय मोबाइल र डेटा सेवा उपलब्ध गराउने लक्ष्य टेलिकमले लिएको छ । सेवा विस्तारसँगै नेटवर्कको पहुँच र गुणस्तरमा देखिएका समस्या क्रमशः समाधान हुने टेलिकमको भनाइ छ ।


विश्व खबर 



















