काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नगरे इरानमाथि थप कडा कदम चाल्ने चेतावनी दिएपछि तेहरानले अमेरिकाबाट नयाँ आक्रमण भए ‘बिना कुनै सीमा’ प्रतिकार गर्ने चेतावनी दिएको छ ।
ट्रम्पले इरानसँग सम्झौता गर्ने, आर्थिक रूपमा कमजोर बनाउने वा इरानलाई ध्वस्त पार्ने विकल्प रहेको बताएका छन् ।
उनले इरानका नेताहरूले सम्झौतामा आउनुपर्ने बताएका छन् ।
जवाफमा इरानी सेनाले अमेरिकी अड्डा तथा क्षेत्रीय हितविरुद्ध निरन्तर कारबाही गर्ने चेतावनी दिएको छ ।
अमेरिकाका क्षेत्रीय सहयोगीलाई समेत द्वन्द्वको पक्ष मानिने इरानको भनाइ छ ।
यसैबीच, मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा आपूर्ति र समुद्री व्यापार प्रभावित भएको छ ।
इरानले होर्मुज जलमार्गमा अधिकांश ढुवानी रोक्दा खाडी क्षेत्रको ऊर्जा निर्यातमा असर परेको छ भने लाल सागर र बाब अल(मन्देब क्षेत्रमा हुथी गतिविधिले थप सुरक्षा जोखिम बढाएको छ ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियान संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा छन् ।
ट्रम्पले उनीसँग भेट गर्न आफू खुला रहेको बताएका छन् ।
यता, कतारले खाडी क्षेत्रमा बढ्दो तनाव रोक्न र सबै देशको सार्वभौमसत्ताको सम्मान हुने सुरक्षा संरचना आवश्यक रहेको बताएको छ ।
अमेरिकाले पनि मध्यपूर्वमा अप्रत्याशित रूपमा तनाव बढ्न सक्ने भन्दै आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
इरानका संसद् सभामुख मोहम्मद बाकर कालिबाफले संघर्षसँगै वार्ता पनि जारी राख्नुपर्ने बताएका छन् ।
उनका अनुसार कूटनीतिक माध्यमबाट प्राप्त उपलब्धिलाई बलियो बनाउन वार्ता आवश्यक छ ।


विश्व खबर 




















