images
images
  • इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट पूरै अमेरिकी सैन्य बेसहरू ध्वस्त

    काठमाडौं– साउदी अरबको प्रिन्स सुल्तान वायुसेना अड्डामा क्षतिग्रस्त बोइङ इ–३ सेन्ट्री विमानको अप्रकाशित तस्वीर सार्वजनिक भएको छ ।

    अमेरिकी समाचार संस्था सीबीएसले मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य अड्डामा इरानले गरेको हमलाबाट भएको ठूलो क्षति देखाउने तस्वीरहरू प्राप्त गरेको छ ।

    अमेरिकी सैनिकहरूले खिचेका भनिएका तस्वीरमा क्षतिग्रस्त राडार विमान, ध्वस्त ट्रेलर तथा गम्भीर रूपमा क्षतिग्रस्त भवनहरू देखिन्छन् ।

    यी तस्वीरमा मिति उल्लेख छैन ।

    तस्वीरहरू साउदी अरब र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डा तथा शिविरका भएको बताइएको छ ।

    नाम सार्वजनिक नगरिएका एक अमेरिकी सैन्य अधिकारीले सीबीएससँग भनेका छन्, ‘हाम्रा अड्डामा भएको ठूलो क्षतिको जानकारी अमेरिकी जनतालाई दिइएको छैन ।’

    उनले अमेरिकी सैनिकहरू त्यहाँ आँखा बन्द गरेर उभिएको अवस्थामा लगातार प्रहार सहनुपरेको दाबी गरेका छन् ।

    बोइङ विमानदेखि टेन्टसम्म ध्वस्त

    कुवेतस्थित क्याम्प ब्यूहरिङमा ईरानी हमलाबाट क्षतिग्रस्त ट्रेलरको तस्वीर पनि सार्वजनिक भएको छ ।

    यस विषयमा प्रतिक्रिया लिन बीबीसीले ह्वाइट हाउससँग सम्पर्क गरेको थियो ।

    ह्वाइट हाउसले अमेरिकी सेन्ट्रल कमान्ड अर्थात् सेन्टकमसँग सम्पर्क गर्न भनेको थियो ।

    तर सेन्टकमले तत्काल प्रतिक्रिया दिएको थिएन ।

    बीबीसीले यी तस्वीरहरूलाई स्वतन्त्र रूपमा प्रमाणीकरण गर्न नसकेको जनाएको छ ।

    यद्यपि, तस्वीर सार्वजनिक भएको एक दिनअघि पेन्टागनको निगरानी निकायले सार्वजनिक गरेको एउटा प्रतिवेदनले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा रहेका सयौँ भवन तथा संरचना ईरानी हमलाबाट क्षतिग्रस्त वा नष्ट भएको पुष्टि गरेको थियो ।

    साउदी अरबको प्रिन्स सुल्तान वायुसेना अड्डाको एउटा तस्वीरमा क्षतिग्रस्त बोइङ ई–३ सेन्ट्री विमान देखिन्छ ।

    विमान दुई भागमा चर्किएको र त्यसको पछाडिको भाग धातुको थुप्रोमा परिणत भएको देखिन्छ ।

    बोइङ इ–३ अवाक्स विमान लामो दूरीबाट सम्भावित लक्ष्य तथा खतरा पहिचान गर्न र त्यसको निगरानी गर्न प्रयोग गरिन्छ ।

    यसले प्रारम्भिक हवाई चेतावनी उपलब्ध गराउने काम गर्छ ।

    मार्चमा पनि यही विमानसँग मिल्दोजुल्दो तस्वीर सार्वजनिक भएको थियो, जसलाई बीबीसी भेरिफाइले पुष्टि गरेको थियो ।

    त्यतिबेला एक अमेरिकी अधिकारीले रोयटर्सलाई साउदी अरबस्थित उक्त अड्डामा भएको ईरानी हमलामा १२ अमेरिकी सैनिक घाइते भएको बताएका थिए ।

    तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको थियो ।

    कुवेतस्थित क्याम्प ब्यूहरिङबाट प्राप्त भएको भनिएका दुई अप्रकाशित तस्वीरमा क्षतिग्रस्त ट्रेलर र धुवाँले घेरिएको ठूलो टेन्टजस्तो संरचना पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ ।

    चारतले भवनमा पनि ठूलो क्षति

    अर्को तस्वीरमा कुवेतस्थित क्याम्प अरिफजानमा इरानी हमलाबाट क्षतिग्रस्त भएको चारतले भवन देखिन्छ ।

    मार्चमा पनि यस सैन्य अड्डामा क्षति पुगेको रिपोर्ट आएको थियो ।

    त्यतिबेला उपग्रह सञ्चारसम्बन्धी उपकरणमा समेत क्षति पुगेको बताइएको थियो ।

    तर अहिले सार्वजनिक गरिएको तस्वीर त्यही हमलापछिको हो वा होइन भन्ने स्पष्ट छैन ।

    डेमोक्रेटिक र रिपब्लिकन दुवै प्रशासनअन्तर्गत राष्ट्रिय सुरक्षा अधिकारीका रूपमा काम गरिसकेका ब्रायन कटुलिसले तस्वीरमा देखिएको क्षतिले अमेरिकी सैन्य प्रतिरक्षा पर्याप्त रूपमा तयार नभएको देखाउने बताएका छन् ।

    मिडिल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलोसमेत रहेका कटुलिसले चीन र रुसजस्ता अमेरिकी प्रतिद्वन्द्वीले ईरानलाई लक्ष्य पहिचान तथा आक्रमणमा सहयोग गरेको हुन सक्ने दाबी गरेका छन् ।

    उनले ट्रम्प प्रशासनले यी कमजोरी हटाउन पर्याप्त कदम नचालेको आरोप पनि लगाएका छन् ।

    पेन्टागनको प्रतिवेदनपछि सार्वजनिक भए तस्वीर

    यी तस्वीर पेन्टागनको निगरानी निकायले सार्वजनिक गरेको प्रतिवेदनपछि बाहिर आएका हुन् ।

    प्रतिवेदनअनुसार युद्धका क्रममा ईरानले कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा रहेका सयौँ भवन तथा संरचनामा क्षति पुर्‍याएको वा नष्ट गरेको थियो ।

    प्रतिवेदनले उपकरणमा भएको क्षतिको कुल मूल्य करिब ३।७ अर्ब अमेरिकी डलर रहेको उल्लेख गरेको छ ।

    प्रतिवेदनअनुसार जुन २९ सम्म अमेरिकाले युद्धमा कुल ३३।४ अर्ब डलर खर्च गरिसकेको थियो ।

    युद्ध सुरु भएको केही महिनामै दर्जनौँ अमेरिकी विमान नष्ट वा क्षतिग्रस्त भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

    क्षतिग्रस्त विमानको सूचीमा पाँचवटा इन्धन भर्ने विमानसमेत छन् ।

    तीमध्ये केही साउदी अरबमा ईरानी हतियारको प्रहारबाट जमिनमै क्षतिग्रस्त वा नष्ट भएको उल्लेख गरिएको छ ।

    अमेरिकी कांग्रेसको बजेट कार्यालय (सीबीओ)को छुट्टै प्रतिवेदनले इ–३ विमानको उत्पादन बन्द भइसकेको र यसको स्थान आधुनिक इ–७ विमानले लिनुपर्ने जनाएको छ ।

    सीबीओका अनुसार एउटा इ–३ विमानको मूल्य मात्रै करिब ५० करोड अमेरिकी डलर पर्छ ।

    युद्धमा नष्ट भएका विमान, ड्रोन र एउटा टर्मिनल हाई अल्टिट्युड एरिया डिफेन्स (थाड) प्रणालीसहित उपकरणको अनुमानित कुल लागत १.९ अर्ब डलर रहेको सीबीओले जनाएको छ ।

    तर रक्षा विभागले मागिएको सूचना उपलब्ध नगराएका कारण सरकारी तथ्यांक तथा सार्वजनिक प्रतिवेदनमा निर्भर हुनुपरेको भन्दै सीबीओले आफ्नो समीक्षा केही हदसम्म सीमित रहेको जनाएको छ ।

    अमेरिकी सेनाले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणमा कति खर्च गर्नुपर्नेछ भन्ने विषय पनि अझै स्पष्ट छैन ।

    ब्रायन कटुलिसले यी लागतले ट्रम्प प्रशासनले महत्त्वपूर्ण सैन्य स्रोत ठूलो उपलब्धिबिना खर्च गरेको देखाउने दाबी गरेका छन् ।

    उनका अनुसार उपकरणको क्षतिभन्दा पनि अमेरिकी सैन्य तयारीमा परेको असर ठूलो हुन सक्छ ।

    उनले अमेरिकाले एसियाबाट मध्यपूर्वतर्फ सैन्य स्रोत तथा उपकरण सार्नुपरेको र त्यसले अमेरिका तथा एसियाली साझेदारहरूलाई चीनको सम्भावित दबाबप्रति थप संवेदनशील बनाउन सक्ने बताएका छन् ।

    कटुलिसका अनुसार अमेरिकी हतियार तथा गोलाबारुदको भण्डारमा आएको कमीले रूसलाई नेटो सदस्य राष्ट्रहरूको कमजोरी पहिचान गर्न र युक्रेनविरुद्धको युद्ध जारी राख्न थप अवसर मिल्न सक्नेछ ।

    उनले अमेरिकासँग क्षतिग्रस्त सैन्य उपकरण पुनःनिर्माण गर्न पर्याप्त आर्थिक स्रोत भए पनि मुलुक पहिलेदेखि नै बजेटसम्बन्धी चुनौतीमा रहेको बताएका छन् ।

    उनका अनुसार मध्यपूर्व वा विश्वका अन्य क्षेत्रमा उत्पन्न हुन सक्ने नयाँ तनावका लागि अमेरिका पर्याप्त तीव्र गतिमा तयारी गर्न कठिन अवस्थामा पर्न सक्छ ।

    इरानसँगको युद्ध अन्त्य गर्न अमेरिकी दबाब बढ्दै

    इरानसँगको संघर्ष अन्त्य गर्न ह्वाइट हाउसमा राजनीतिक तथा सार्वजनिक दबाब बढ्दै गएको छ ।

    अमेरिका र इजरायलले फेब्रुअरी २८ मा ईरानमाथि संयुक्त हमला गरेपछि युद्ध सुरु भएको थियो ।

    त्यसयता इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा अमेरिकी सहयोगी राष्ट्रका सैन्य संरचनाका साथै इजरायललाई समेत पटक–पटक निशाना बनाएको छ ।

    मंगलबार राति अमेरिकी प्रतिनिधिसभाले इरानसँगको युद्ध अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा तेस्रोपटक मतदान गरेको थियो ।

    प्रतिनिधिसभाबाट पारित प्रस्तावले राष्ट्रपतिलाई कांग्रेसको स्वीकृतिबिना अमेरिकी सैन्य कारबाही जारी राख्नबाट रोक्ने उद्देश्य राखेको छ ।

    धेरै रिपब्लिकन सांसदको समर्थनमा पारित भएको यो विधेयक नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि यस विषयमा प्रतिनिधिसभामा हुने अन्तिम मतदान हुन सक्ने बताइएको छ ।

    यद्यपि, विधेयकको अगाडिको प्रक्रिया अनिश्चित छ ।

    अमेरिकी सिनेटले यस विषयमा छलफल गर्ने संकेत अहिलेसम्म दिएको छैन ।

    सोही दिन निवर्तमान रिपब्लिकन सांसद थोमस मेसीले रक्षा सचिव पीट हेगसेथमाथि महाभियोग लगाउने प्रयास सुरु गर्ने घोषणा गरेका थिए ।

    इरानसँगको युद्धमा अमेरिकाले बेहोरेको क्षतिसम्बन्धी नयाँ विवरण सार्वजनिक भइरहेका बेला उनले यस्तो कदम घोषणा गरेका हुन् ।

    तर ट्रम्प प्रशासनले हेगसेथको समर्थन गरेको छ ।

    अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले पत्रकारहरूसँग हेगसेथले असाधारण काम गरिरहेको बताएका छन् । –बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images