images
images
  • वीरगन्ज भन्सारले भदौमा उठायो २३ अर्ब, लक्ष्यको ९९.७५ प्रतिशत राजस्व

    काठमाडौं– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा राजस्व संकलनको लक्ष्यको ९९ दशमलव ७५ प्रतिशत हासिल गरेको छ ।

    कार्यालयले भदौमा २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ अर्ब ४ करोड १५ लाख रुपैयाँ संकलन गरेको हो ।

    दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै बजारमा वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको र त्यसको प्रभाव भन्सार राजस्वमा परेको कार्यालयले जनाएको छ ।

    त्यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका केही नाकाबाट हुने आयातको मार्ग परिवर्तन हुँदा केही वस्तु अन्य नाकामार्फत वीरगन्ज भित्रिन थालेका छन् ।

    यसले पनि भदौमा राजस्व संकलन बढाउन सहयोग गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताएका छन् ।

    दुई महिनामा ४ अर्ब २२ करोड राजस्व

    चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयलाई २० अर्ब ४० करोड रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य दिइएको छ ।

    भदौ मसान्तसम्म कार्यालयले ४ अर्ब २२ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ। यो वार्षिक लक्ष्यको करिब २० दशमलव ७ प्रतिशत हो ।

    भन्सार विभागले चालु आर्थिक वर्षमा देशभरबाट ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। त्यसमा वीरगन्ज भन्सार कार्यालयलाई मात्रै २ खर्ब ९४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ ।

    भन्सार विभागको कुल वार्षिक राजस्व लक्ष्यमा वीरगन्ज भन्सारको हिस्सा ४६ दशमलव ८२ प्रतिशत रहेको छ ।

    भदौ मसान्तसम्म वीरगन्ज भन्सारले विभागको कुल वार्षिक लक्ष्यमा ६ दशमलव ७३ प्रतिशत योगदान गरिसकेको छ ।

    चाडपर्वले आयात बढाउने अपेक्षा

    नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक वीरगन्जबाट हुने आयातमा आउने उतारचढावले समग्र भन्सार राजस्वमा समेत प्रभाव पार्ने गरेको छ ।

    दसैं, तिहार र छठका कारण आगामी दिनमा उपभोग्य तथा अन्य व्यापारिक वस्तुको आयात अझ बढ्न सक्ने कार्यालयको अपेक्षा छ । यसको प्रभाव असोज महिनाको राजस्व संकलनमा समेत देखिन सक्ने बताइएको छ ।

    वीरगन्ज नाकाबाट मुख्य रूपमा सवारीसाधन, इन्धन, फलाम, मदिरा, औद्योगिक कच्चा पदार्थ, विद्युतीय सामग्री तथा श्रृंगारका सामग्री आयात हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images