काठमाडौं – विश्वकर्मा पूजाको अवसर पारेर टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकै दिन देशभर १५० वटा टाटाका सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले देशभर रहेका २२ वटा आधिकारिक बिक्री केन्द्रबाट एकैसाथ सवारीसाधन हस्तान्तरण गरेको जनाएको छ ।
नेपाली समाजमा विश्वकर्मा पूजाका दिन नयाँ सवारीसाधन, यन्त्र तथा उपकरण खरिद गरी पूजाआजा गर्ने चलन रहेकाले सोही अवसरलाई लक्षित गरी हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ ।
हस्तान्तरण गरिएका सवारीसाधनमा टाटाका विद्युतीय तथा पेट्रोल–डिजेलबाट चल्ने सवारीसाधन रहेका छन् । विद्युतीयतर्फ नयाँ टियागो, नयाँ पन्च, नेक्सन र कर्भप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।
सिप्रदीका अनुसार हालै सम्पन्न नाडा अटो प्रदर्शनी तथा नाइमा नेपाल आवागमन प्रदर्शनी का क्रममा सार्वजनिक तथा बुकिङ भएका अधिकांश सवारीसाधन विश्वकर्मा पूजाको अवसरमा ग्राहकलाई हस्तान्तरण गरिएको हो ।
प्रदर्शनीका क्रममा बुकिङ भएका सवारीसाधनको आवश्यक आर्थिक तथा प्राविधिक प्रक्रिया पूरा भएपछि विश्वकर्मा पूजाको अवसर पारेर ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा पछिल्लो समय इन्धन बचत तथा वातावरणीय प्रभावका कारण विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको अवस्थामा एकै दिन ठूलो संख्यामा सवारीसाधन हस्तान्तरण गरिएको सिप्रदीले जनाएको छ ।


विश्व खबर 



















