काठमाडौं– युवा पुस्ता रोजगारी, अध्ययन तथा अन्य अवसरका लागि विदेशिने क्रम बढिरहेका बेला पाल्पाका केही युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन् ।
तानसेन नगरपालिका–७ प्रभासका रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले करिब २ करोड रुपैयाँ लगानीमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।
स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गए पनि सञ्चालनमा रहेका उद्योगबाट मागअनुसार पर्याप्त आपूर्ति हुन नसकेको भन्दै उद्योग स्थापना गरिएको सञ्चालक विराज ढुङ्गानाले बताए ।
उद्योगले प्रारम्भिक चरणमा एक हजार, पाँच सय र तीन सय मिलिलिटरका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी गरेको छ ।
उपभोक्ताको स्वास्थ्य र बजारको मागलाई प्राथमिकतामा राखेर उत्पादन सुरु गर्न लागिएको सञ्चालक ढुङ्गानाले जानकारी दिए ।
माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग स्थापना गरिएको सञ्चालकहरूले बताएका छन् ।
स्थानीय रोजगारी र आर्थिक गतिविधिमा टेवा
तानसेन–७ का वडाध्यक्ष प्रदीप खनालले व्यापार–व्यवसाय सुस्ताइरहेका बेला ठूलो लगानीसहित नयाँ उद्योग सञ्चालनमा आउनु सकारात्मक भएको बताए ।
उनका अनुसार उद्योग सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै शुद्ध पिउने पानीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
प्रभास क्षेत्रमा पछिल्लो समय पिउने पानी उद्योग, दुग्ध प्रशोधन उद्योग, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालयलगायतका संस्था विस्तार भइरहेका छन् । यसले प्रभासलाई शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विकास गर्दै लगेको वडाध्यक्ष खनालको भनाइ छ ।
पत्रकार भरत शर्माका अनुसार मुख्य बजार क्षेत्रभन्दा बाहिर नयाँ उद्योग तथा व्यवसाय थपिनु स्थानीय आर्थिक गतिविधि विस्तारको संकेत हो। उद्योग तथा व्यवसाय बढ्दै जाँदा रोजगारीका अवसरसँगै वस्तु तथा सेवाको स्थानीय मागसमेत बढ्ने उनको भनाइ छ ।
तानसेन पुरानो व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित भए पनि पछिल्लो समय बजारमा चहलपहल घटेको व्यवसायीहरूको गुनासो छ ।
नयाँ व्यापारिक केन्द्रको विकास र उपभोक्ताको खर्च गर्ने शैलीमा आएको परिवर्तनले स्थानीय व्यापार प्रभावित भएको उनीहरूको भनाइ छ ।
यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी भित्रिनुले तानसेनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सिएन समूहले यसअघि यातायात क्षेत्रमा लगानी गर्दै आएको छ। समूहले व्यावसायिक गतिविधिसँगै विभिन्न सार्वजनिक स्थानमा चौपारी निर्माणलगायत सामाजिक तथा परोपकारी काममा समेत योगदान गर्दै आएको जनाएको छ ।


विश्व खबर 



















