काठमाडौं – कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४२ हजार २५० कित्ता साधारण शेयरको लक–इन अवधि आगामी कात्तिक ६ गतेदेखि समाप्त हुने भएको छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार समाप्त हुन लागेको जनाएको हो ।
सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणलाई छुट्याइएको शेयरको ५ प्रतिशतले हुन आउने रु. ४२ लाख २५ हजार बराबरको ४२ हजार २५० कित्ता शेयर लक–इनमा राखिएको थियो।
कम्पनीका अनुसार उक्त शेयरको लक–इन अवधि २०८३ कात्तिक ६ गते अर्थात् सन् २०२६ अक्टोबर २३ गते समाप्त हुनेछ ।
लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सामूहिक लगानी कोषले प्रचलित नियम तथा कानुनबमोजिम उक्त शेयर बिक्री तथा कारोबार गर्न सक्नेछन् । लक–इन अवधिभर भने यस्ता शेयर बिक्री वा हस्तान्तरण गर्न पाइँदैन ।
नेपाल धितोपत्र बोर्डको २०८० असोज २५ गतेको पत्र तथा निर्देशनअनुसार कम्पनीले लक–इन अवधि समाप्त हुनेसम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
कालिञ्चोक हाइड्रोपावरको शेयर रजिस्ट्रारको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले सम्हाल्दै आएको छ ।


विश्व खबर 



















