काठमाडौं – विश्वकै ठूलो सवारीसाधन निर्माता टोयोटा मोटरले कारखाना स्वचालन र रोबोट प्रविधिको प्रयोग विस्तार गर्न सन् २०२८ देखि वार्षिक १० खर्ब येनसम्म खर्च गर्न सक्ने अनुमान गरिएको छ ।
उत्पादन लागत घटाउने, पुराना पूर्वाधारलाई आधुनिकीकरण गर्ने तथा कामदारको अभाव सम्बोधन गर्ने उद्देश्यले टोयोटाले कारखानामा रोबोट र स्वचालित प्रविधिको प्रयोग बढाउन लागेको हो ।
टोयोटाको यो सम्भावित लगानीमा कम्पनीसँग सम्बन्धित समूहका कम्पनी तथा प्रमुख आपूर्तिकर्तासमेत समेटिने बताइएको छ ।
कम्पनीले लगानीको अवधि र रकम निश्चित गरिनसके पनि कारखाना स्वचालन विस्तारका लागि करिब ४ लाख रोबोट आवश्यक पर्न सक्ने लगानीकर्तालाई जानकारी गराएको छ ।
उक्त संख्यामा हाल प्रयोग भइरहेका मेसिनको स्थानमा राखिने नयाँ रोबोट तथा नयाँ उत्पादन प्रणालीमा थपिने रोबोट समावेश हुनेछन् ।
मानव आकारका र अन्य प्रकारका रोबोटसमेत प्रयोगमा ल्याउने तयारी टोयोटाको छ ।
यसै महिनाको सुरुवातमा लगानीकर्तासँग भएको छलफलमा टोयोटाले औद्योगिक रोबोट, स्वचालित सामान ढुवानी प्रणाली तथा कारखानामा मानिस र रोबोटबीच हुने सहकार्यलाई समेत आफ्नो स्वचालन रणनीतिको हिस्सा बनाएको थियो ।
विश्लेषकहरूका अनुसार रोबोट प्रविधिमा टोयोटाको बढ्दो लगानीले सवारीसाधन उत्पादनबाहेक नयाँ व्यावसायिक क्षेत्रमा समेत विस्तारको सम्भावना सिर्जना गर्न सक्छ ।
बर्नस्टिनका विश्लेषकहरूले टोयोटाले रोबोट प्रविधिमा आफ्नो प्रयास तीव्र बनाउँदै जाँदा आगामी दिनमा यससम्बन्धी घोषणा थप बढ्न सक्ने बताएका छन् ।
विश्वका अन्य सवारीसाधन निर्माताले पनि मानव आकारका रोबोटको प्रयोग बढाउने तयारी गरिरहेका छन् ।
मानव आकारका रोबोट निर्माता बोस्टन डाइनामिक्सको स्वामित्व रहेको हुन्डाईले सन् २०२८ देखि अमेरिकाको जर्जियास्थित आफ्नो कारखानामा मानव आकारका रोबोट परिचालन गर्ने योजना अघि सारेको छ ।
सवारीसाधन उद्योगमा कामदारको अभाव, उत्पादन लागत र पुराना कारखानाको आधुनिकीकरणको चुनौती बढ्दै जाँदा रोबोट तथा स्वचालित प्रविधिको प्रयोगलाई उद्योगले उत्पादन सुधारको प्रमुख माध्यमका रूपमा अघि बढाउन थालेको छ ।


विश्व खबर 



















