काठमाडौं – २०८३ सालको भदौ महिनामा देशभर भएको घरजग्गा किनबेच तथा लिखत पारितबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका देशभरका १५८ वटा भूमि प्रशासन कार्यालय तथा स्थानीय तहबाट संकलित एकीकृत विवरणले भदौमा घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको देखाएको हो ।
संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरको रहेको छ । भदौमा रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ ।
यस्तै, सेवा करबाट १६ करोड ८२ लाख रुपैयाँ, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख रुपैयाँ तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरबाट करिब २ करोड ८० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।
उपत्यकाबाट मात्रै २ अर्ब १६ करोड
भदौमा संकलित कुल राजस्वमध्ये ५५ प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाका नौ वटा कार्यालयबाट उठेको छ । उपत्यकाका कार्यालयबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
देशभरमा सबैभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयमा भक्तपुर भूमि प्रशासन कार्यालय पहिलो स्थानमा रहेको छ । भक्तपुरले एक महिनामै ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ ।
भक्तपुरमा रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
काठमाडौंका कलंकी कार्यालयले ३७ करोड १२ लाख ५५ हजार ८६६ रुपैयाँ, चावहिलले ३३ करोड ५५ लाख २६ हजार ४५ रुपैयाँ र डिल्लीबजारले ३१ करोड ४३ लाख ९४ हजार ८४४ रुपैयाँ राजस्व उठाएका छन् ।
उपत्यकाकै साँखु कार्यालयबाट ११ करोड ६६ लाख रुपैयाँ, मनमैजुबाट १० करोड ५७ लाख रुपैयाँ, कागेश्वरी मनोहरा नगरपालिकाबाट १० करोड २६ लाख रुपैयाँ र टोखा कार्यालयबाट ९ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिर कास्की अगाडि
उपत्यकाबाहिर पनि प्रमुख सहरी क्षेत्रमा घरजग्गा कारोबारबाट उल्लेख्य राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिर सबैभन्दा बढी राजस्व संकलन गर्नेमा कास्कीको पोखरा भूमि प्रशासन कार्यालय रहेको छ । उक्त कार्यालयले भदौमा १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व दाखिला गरेको छ ।


विश्व खबर 



















